यसरी पुर्‍याइयो झाँक्रीलाई हिरासत

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी आन्दोलन गरिरहेको नेकपा दाहाल–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध कसुरको मुद्दा लगाएर कारबाही गर्ने सरकारको प्रयास एक दिन पनि टिकेन । झाँक्रीलाई प्रहरीले पक्राउ गरेकामा सत्तापक्षीय नेकपाबाहेक सबै राजनीतिक दल, नेता, पेसाकर्मी र नागरिकले विरोध गरेपछि बिहीबार साँझ रिहा गरिएको छ । 

यसरी पुर्‍याइयो झाँक्रीलाई हिरासत

प्रहरीले झाँक्रीलाई बिहीबार पक्राउ गरेपछि तत्काल रिहाइको माग गर्दै नेकपा दाहाल–नेपाल समूहका नेता–कार्यकर्ताले राजधानीलगायत विभिन्न क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपमा प्रदर्शनकारीतर्फ १२ र प्रहरीतर्फ ५ जना घाइते भएका थिए । नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

झाँक्रीले गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिप्रति लक्ष्य गर्दै अभिव्यक्ति दिएकी थिइन् । झाँक्रीको उक्त अभिव्यक्तिपछि नेकपा ओली समूहको अखिल नेपाल महिला संघले कारबाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र दिएको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले फेसबुकमै स्टाटस लेखेर झाँक्रीको आक्षेपप्रति असन्तुष्टि जनाएकी थिइन् ।

उषाकिरणको असन्तुष्टि र अनेमसंघ ज्ञापनपत्रपछि गृह मन्त्रालयले राष्ट्रपतिमाथि आक्षेप र लाञ्छना लगाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि प्रहरीले प्रतिनिधिसभा विघटनपछि झाँक्रीले सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा दिएका अभिव्यक्ति गुपचुप रूपमा संकलन गर्न थालेको थियो । केही दिनदेखि प्रहरीले पक्राउ गर्दा उत्पन्न हुने अवस्था आकलन गरिरहेको थियो ।

त्यही क्रममा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरी हुँदै महानगरीय अपराध महाशाखालाई झाँक्रीसँग सोधपुछ र आवश्यक परे नियन्त्रणमा लिएर राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन निर्देशन दियो । तर प्रहरीमा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको कसुरमा उजुरी परेको थिएन । अनेमसंघको ज्ञापनपत्रलाई नै उजुरी मानेर गृहबाट आएको निर्देशनअनुसार अनुसन्धान अघि बढाइयो ।

त्यही क्रममा बिहीबार दिउँसो अपराध महाशाखामा उपस्थित हुन झाँक्रीलाई भनिएको थियो । तर, पक्राउ पुर्जीबिना उपस्थित नहुने भन्दै झाँक्रीले शंखमूलस्थित निवासमै पत्रकार सम्मेलन गरिन् । त्यसपछि राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि ‘जरुरी पुर्जी’ लिएर सादा पोसाकमा प्रहरी निरीक्षक दिनेश गौतमको टोली झाँक्री निवास पुग्यो र पक्राउ गरेर झाँक्रीलाई प्रहरी अपराध महाशाखामा लग्यो ।

त्यसपछि काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहका युवा/विद्यार्थी पक्राउको विरोधमा सडक प्रदर्शनमा उत्रिए । राजनीतिक दलका शीर्ष नेता, युवालगायतले सामाजिक सञ्जाल र कार्यक्रममा पक्राउको विरोध गरे । सडकमा प्रदर्शन चर्किने देखियो । त्यसपछि साँझ महाशाखाले झाँक्रीलाई माघ १६ गतेको अभिव्यक्तिबारे प्रश्नोत्तर (सवालजवाफ) र भनेका अभिव्यक्तिको आशयबारे कागज गराएर रिहा गरेको छ ।

‘प्रहरीले किन गालीगलौज गरेको ? गालीगलौज गर्दा कानुनी कारबाहीमा परिन्छ भन्ने थाहा थिएन ? राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिन पाइँदैन भन्ने जानकारी थिएन ?’ जस्ता ५ वटा प्रश्न उनलाई सोधिएको थियो । जवाफमा झाँक्रीले आफूले संविधानको धारा १७ मा उल्लिखित अभिव्यक्ति स्वतन्त्रताको हकअनुसार अभिव्यक्ति दिएको, राजनीतिक कार्यक्रममा भाषण गरेको र राष्ट्रपति संस्थाप्रति आफ्नो हिजो र आज सम्मान रहेको र भोलि पनि सम्मान रहिरहने बताएकी थिइन् ।

प्रहरीसँग सवालजवाफ भइरहँदा सडकमा आन्दोलन चर्किंदै गएको थियो । त्यसबाट सरकार थप आलोचित हुने देखेर गृह मन्त्रालय र प्रधानमन्त्री निवाससँग प्रहरी प्रधान कार्यालयले समन्वय गरेपछि कागज गरी छाड्ने प्रक्रिया अघि बढाइएको थियो । साँझ सवा ६ बजेतिर झाँक्रीलाई उनका पति पशुपति पुरीको जिम्मा लगाएर प्रहरीले रिहा गर्‍यो ।

प्रहरी स्रोतले सोधपुछका लागि बोलाउँदा नआएपछि जरुरी पक्राउ पुर्जीमार्फत नियन्त्रणमा लिनुपरेको जनाएको छ । ‘सोधपुछका लागि सहजै आएको भए पुर्जी जारी गर्नु नै पर्दैन थियो, उहाँले अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको हो,’ स्रोतले भन्यो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कानुनविपरीतका गतिविधि गर्ने अधिकार कसैलाई नभएको बताए । त्यहीअनुसार झाँक्रीलाई पनि सोधपुछका लागि झिकाइएको र कागज गराएर परिवारको जिम्मा लगाइएको उनले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ३०, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?