अभिव्यक्तिमा अंकुश लगाउने प्रयास

राष्ट्रपतिविरूद्ध बोलेको अभियोगमा ‘बालुवाटारको दबाबमा’ पक्राउ परेकी युवा नेता झाँक्री नागरिकको दबाब र खबरदारीपछि रिहा
बिनु सुवेदी

काठमाडौँ — २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले चुनाव गराउन नसकेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरे र नयाँ सरकार बन्न केही समय लाग्ने भन्दै मुलुकको कार्यकारी अधिकार आफूमा निहित रहने घोषणा गरे ।

अभिव्यक्तिमा अंकुश लगाउने प्रयास

ज्ञानेन्द्रले उक्त घोषणा गर्नेबित्तिकै रत्नपार्कमा गएर तत्कालीन एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष राजेन्द्र राईसहितको टोलीले राजाविरुद्ध नारा लगायो, टोलीमा तत्कालीन अनेरास्ववियुकी प्रचार विभाग प्रमुख रामकुमारी झाँक्री पनि थिइन् । त्यतिखेर राईले भनेका थिए, ‘नागरिकको अधिकार एक दिन र एकछिनका लागि पनि खोस्न पाइँदैन ।’

त्यसपछि विद्यार्थीले क्रमशः आन्दोलनको उभार ल्याए । रामकुमारी झाँक्रीहरूले सडकबाटै गणतन्त्रको नारा घन्काउँदा पार्टीको एजेन्डाबाहिरको नारा लगाएको भनेर कारबाही गर्न माग गर्नेहरू अहिले राजकाजमा छन् । सडकमा झाँक्रीसहितका विद्यार्थीले गणतन्त्रको नारा घन्काउन सुरु गरेको निकै पछि २०६२ भदौमा नेकपा एमाले केन्द्रीय कमिटी बैठकले गणतन्त्रका लागि संयुक्त आन्दोलन गर्नुपर्ने प्रस्ताव पारित गरेको हो ।

त्यतिखेर अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रका लागि संघर्ष गर्ने पार्टी लाइनको विपक्षमा थिए । त्यही बैठकमा ओलीले यो आन्दोलनबाट गणतन्त्र ल्याउनु बयलगाडामा चढेर अमेरिका जानुसरह हो भनेका हुन् । गणतन्त्रका लागि संघर्ष गर्ने पार्टी निर्णयमा तत्कालीन एमालेका केन्द्रीय कमिटी सदस्य एवं अहिलेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र मुकुन्द न्यौपानेले लिखित रूपमै फरक मत दर्ता गराएका थिए ।

झाँक्रीहरूले गणतन्त्रका लागि टाउको फुटाइरहँदा यो पार्टीको लाइन हुनै सक्दैन भनेकी तत्कालीन अखिल नेपाल महिला संघकी अध्यक्ष विद्यादेवी भण्डारी गणतन्त्रको व्यवस्थाबमोजिम नै मुलुकको राष्ट्रपति भएकी हुन् । गणतन्त्र ल्याउन आन्दोलनको अग्रमोर्चामा रहेकी उनै झाँक्रीलाई राष्ट्रपतिविरुद्ध बोलेको भन्दै प्रहरीले बिहीबार हिरासतमा लियो । उनीमाथि राज्यविरुद्ध कसुर गरेको अभियोग लगाउन खोजियो । यद्यपि सर्वत्र विरोधपछि त्यो सफल भएन, बिहीबार साँझ उनलाई रिहा गरियो ।

झाँक्रीलाई प्रहरीले हिरासतमा लिएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको प्रतिक्रिया दिए । ‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजो (बुधबार) देखि पक्राउ गर्न बल गरेको थियो, तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘हामीले रोक्न बल गर्दागर्दै जबर्जस्ती पक्राउ गरेर लगेका छन्, कम्युनिस्ट पार्टीमाथि हमला भएको छ ।’

ओलीनिकट अखिल नेपाल महिला संघका पदाधिकारीले गत माघ २१ गते झाँक्रीलाई पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुरलाई ज्ञापनपत्र बुझाएका थिए । झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अपमानजनक र आपराधिक अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने ज्ञापनपत्र बुझाउन गएका गोमा देवकोटा, सुजिता शाक्यलगायतको भनाइ थियो । पत्र बुझ्दै प्रधानमन्त्री ओलीले सम्बन्धित निकायले ज्ञापनपत्रको सम्बोधन गर्ने बताएका थिए ।

गृहमन्त्रीले पनि आफ्नो ध्यानाकर्षण भएको जानकारी टोलीलाई दिएका थिए, जुन ध्यानाकर्षण प्रस्फुटन प्रहरीमार्फत बिहीबार बिहानै भयो । झाँक्रीलाई पक्रिन प्रहरी उनको घर शंखमूल पुग्यो । ओली नेतृत्वको नेकपानिकट अनेमसंघले ज्ञापनपत्र बुझाए पनि झाँक्रीविरुद्ध प्रहरीमा औपचारिक उजुरी परेको थिएन । सुरुमा उनलाई पक्रन जाँदा प्रहरीले पक्राउ पुर्जीसमेत लगेको थिएन । पछि झाँक्रीले नै पक्राउ पुर्जी खोजेपछि प्रहरीले पुर्जी काटेर लग्यो र उनले राज्यविरुद्ध कसुर गरेको देखाइदियो । जबकि उनले राष्ट्रपति संस्थाको गरिमाको समेत ख्याल नगर्दै सरकारले गरेको विवादास्पद निर्णयमा साथ दिँदै आएकी राष्ट्रपतिको आलोचना संविधानको अधीनभित्रै रहेर गरेकी हुन् ।

केही दिनअघि निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै गर्दा राष्ट्रपति भण्डारीले तोकिएको मितिमै चुनाव हुन्छ भनेकी थिइन् । भण्डारीको त्यही अभिव्यक्तिका आडमा गत माघ १६ गते गोरखामा भएको एउटा कार्यक्रममा झाँक्रीले चुनाव लड्न मन भए राजीनामा दिएर आउन भण्डारीलाई चुनौती दिएकी थिइन् । ‘राष्ट्रपतिको त के कुरा गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, बडामहारानीलाई गोर्खाबाटै सन्देश दिन चाहन्छु, शीतलनिवास छोडेर कोटेश्वर फर्किए हुन्छ । बानेश्वर हो कि चाबहिल कता घर छ... नभए बालकोट नै गए पनि हुन्छ ।’

झाँक्रीको यही अभिव्यक्तिमा प्रतिशोध साधेर सरकारले चलाउन खोजेको कारबाहीको डन्डा नेपालको संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वन्त्रताको पनि बर्खिलाप छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को धारा १७ (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता छ भनेको छ । संविधानले राष्ट्रपति संस्थालाई संविधानभन्दा माथि भनेको छैन । बरु संविधानको पालना र संरक्षण गर्ने जिम्मा राष्ट्रपतिलाई दिएको छ । राष्ट्रपतिले संवैधानिक मर्यादाको समेत ख्याल नगरेको भन्दै आक्रोशित हुने झाँक्रीजस्ता नेता अनगिन्ती छन् ।

‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, बडामहारानीका लागि म पनि भारी हुन सकौंला, बडामहारानीविरुद्ध यही रेखा लोप्चनलाई चुनाव लडाउँला,’ गोर्खाको सिरानचोकमा १७ गते झाँक्रीले भनेकी थिइन्, ‘जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शीतलनिवासमा बडामहारानीको बास भएको छ ।’ उनले गोर्खाबाट राष्ट्रपति भण्डारीलाई दिएको यो चुनौती ३० वर्षअघि तत्कालीन एमालेका महासचिव मदन भण्डारीले राजा वीरेन्द्रलाई काठमाडौंको खुलामञ्चबाट दिएको चुनौतीभन्दा कठोर पक्कै पनि छैन ।

नेकपा दाहाल–नेपाल समूहकी नेता रामकुमारी झाँक्री बिहीबार पक्राउ पर्नुअघि काठमाडौंको शंखमूलस्थित घरमा समर्थकलाई सम्बोधन गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

०४७ चैत ५ गते तत्कालीन एमालेले काठमाडौंमा गरेको चुनावी सभामा मदन भण्डारीले वीरेन्द्रलाई राजनीति गर्ने हो भने श्रीपेच खोलेर मैदानमा आउन चुनौती दिएका थिए । ‘मानसम्मान उपभोग गर्दै किनारामा बसिस्योस् महाराज, हात नलम्काइबक्सियोस्, आँखा नचम्काइबक्सियोस्, आफ्ना सन्डमुन्डहरूलाई नचलाई बक्सियोस्,’ भण्डारीले भनेका थिए, ‘सन्डमुन्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराज पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्‍यो ।’ तर राजा वीरेन्द्रले भण्डारीलाई पक्राउ गर्न कसैलाई आदेश दिएनन् । उनै मदन भण्डारीको विरासतमा राजनीति गरेकी विद्या भण्डारी अहिले सर्वोच्च संस्थामा छिन् ।

भण्डारीलाई आदर्श मान्ने र भण्डारीको विचारलाई आफ्नो विचार भन्ने ओली प्रधानमन्त्री छन् । गणतन्त्रका लागि आफ्नै टाउको फुटाएर आन्दोलन गरेकी झाँक्रीले भण्डारीकै शैलीमा राजनीति गर्ने हो भने शीतलनिवास छोड्नुस् भन्दा यो सत्तालाई पसिना आएको छ, जसको विरोध राजसंस्थाको ताबेदारी गर्दै निरंकुश शाहीकालमा राजा ज्ञानेन्द्रलाई साथ दिएका राप्रपा अध्यक्ष कमल थापाले समेत गरेका छन् ।

२०६० पुस २३ गते रत्नपार्कमा पुलिसको लाठी लाग्दा प्रतिगमनविरुद्ध अग्रभागमा रहेकी झाँक्रीको टाउको फुटेर रगताम्मे भएको थियो । उनीमाथि राज्यले देखाएको त्यो बर्बरता र उनले सम्हालेको आन्दोलनको अग्रमोर्चाबारे जनआन्दोलनभरि चर्चा भयो, अहिले पनि सामाजिक सञ्जालमा त्यो फोटो देखिइरहन्छ । ०६२/६३ को आन्दोलन सफल नहुँदासम्म झाँक्री र उनीजस्तै थुप्रै युवा राजनीतिको अग्रमोर्चामा आए । त्यसपछि यही समूहसमेतको निरन्तर खबरदारीका कारण मुलुक अग्रगमनको यात्रामा थियो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले हत्तपत्त अनुमोदन गरिदिएपछि राष्ट्रपति र प्रधानमन्त्री दुवैको सरोबरी आलोचना भइरहेको छ । संविधानको संरक्षण गर्ने दायित्वसमेत रहेको संस्था त्यसैलाई तहसनहस पार्न उद्यत रहेको भन्दै भण्डारीमाथि गणतन्त्र ल्याउन भूमिका खेलेका युवा थप आक्रोशित भएका छन्, झाँक्री पनि तीमध्येकै हुन् । प्रतिनिधिसभा विघटन भएलगत्तै राष्ट्रपतिलाई घर पठाउँछौं भनेर अभिव्यक्ति दिएका कांग्रेस नेता गगन थापा सरकारले देखाएको त्रासले सत्यका पक्षमा बोल्ने मुख बन्द नहुने बताउँछन् । गणतन्त्र ल्याउने आन्दोलन गर्दै गर्दा शाहीकालीन सरकारले कांग्रेसका थापा र गुरु घिमिरेलगायत नेतालाई पनि अहिले झाँक्रीलाई जस्तै राज्यविरुद्धको मुद्दा लगाएको थियो ।

झाँक्रीलाई प्रहरीले पक्राउ गर्दै छ भन्ने हल्ला केही दिनदेखि चलिरहेको थियो । सरकारको ठाडो निर्देशनमा केही दिन हिरासतमै राख्न सकिने गरी उनलाई पक्राउ गरिएको थियो । शुक्रबार सार्वजनिक बिदा र शनिबारको छेको पारेर उनलाई प्रहरीले जसरी पक्रेको थियो, त्यसैगरी बालुवाटारको निर्देशनमा छोडिदियो तर नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति राज्यको उदासीनता र गैरजिम्मेवारीपन भने छर्लंग देखियो । व्यापक दबाबका कारण पनि झाँक्रीलाई बिनाकुनै सर्त हिरासतमुक्त गर्न प्रहरी तयार हुनुपर्‍यो । मुक्त भएपछि झाँक्रीले चौतर्फी दबाबका कारण आफूलाई छोड्न सरकार बाध्य भएको प्रतिक्रिया दिइन् ।

‘संविधानले व्यवस्था गरेका संवैधानिक पदहरूप्रति हाम्रो जहिले पनि सम्मान छ, त्यहाँ रहने व्यक्तिका क्रियाकलापको आलोचना भएको हो, त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’ उनले प्रतिगमन अब प्रतिक्रान्तिको चरणमा पुगेको र त्यसका लागि अन्तिम लडाइँ गर्नुपर्ने बताइन् ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी जाँदै छ भन्ने थाहा पाउनेबित्तिकै युवा–विद्यार्थी नेताहरू र सञ्चारकर्मी उनको निवासमा पुगेका थिए । सुरुमा पक्राउ पुर्जीसमेत नलगी गएको प्रहरी नेता–कार्यकर्ताको नाराबाजी र दबाबपछि हच्किएको थियो । उनलाई महानगरीय अपराध महाशाखा मीनभवनमा दिनभरि राखियो । नेकपा नेता–कार्यकर्ताले त्यहाँ पनि विरोध प्रदर्शन र नाराबाजी गरे । सामाजिक सञ्जालमा केपी ओली पक्षधर केहीबाहेक कसैले उनको पक्राउको समर्थन गरेनन् ।

संविधानले नै ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध जाँदा स्वयं राज्यको कदमसमेत लामो समय टिक्न सक्दैन भन्ने पुष्टि गरेर झाँक्री साँझ हिरासतमुक्त भइन् । दिनभरिको यो रस्साकसीका बीचबाट नेकपा नेता घनश्याम भुसालले भनेका छन्, ‘रामकुमारी झाँक्री पक्राउ परेको ठाउँबाट हेर्दा केपी ओली तीव्र गतिमा ओरालो लागेको देखिन्छ ।’

प्रकाशित : माघ ३०, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?