कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

केपी ओलीसँग अब साइबर सेना मात्रै छ : नेता नेपाल

'ओलीको नेकपासँग कुनै सम्बन्ध छैन,नेकपा ओली गुट भनेर खोले हुन्छ अझ ओलीबा समूह बनाए सबैभन्दा राम्रो'
एक केपीले देश आजित भइसक्यो–अध्यक्ष नेपाल

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले विगतमा भएका कमीकमजोरीसहित श्‍वेतपत्र जारी गर्ने बताएका हुन् ।

केपी ओलीसँग अब साइबर सेना मात्रै छ : नेता नेपाल

कार्यक्रममा उनले भने, 'विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता गरौँ, प्रतिबद्धता पत्र जारी गरौं । जसलाई मान्छेले श्‍वेतपत्र भन्ने गरेका छन् । श्‍वेतपत्र जारी गरौं भन्नेमा छौं । यो केपी प्रवृत्ति विरुद्धको लडाइँ हो । यी प्रवृत्तिहरु नै हामीमा भए भने हामी पनि कपीको अर्को अवतार हुन पुग्ने छौं । केपीको नयाँ-नयाँ अवतार चाहिएको छैन । एक केपीले यो देश आजित भइसक्यो भने केपीको नयाँ-नयाँ अवतार आए देश थिलोथिलो भएर सिद्धिन्छ । हामी चाहन्छौँ सबै हिसाबले यो देशले, लोकतन्त्रले जितोस् ।’

अध्यक्ष नेपालले अहिले लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको बताए । 'केपी ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षमा रहेको छौं । उनले संवैधानिक शासनलाई चुनौती दिएका छन् । आजसम्म प्राप्त उपलब्धि जोगाउन हामी जुधिरहेका छौं । यो लडाइँ केवल केपी ओली र हामीबीचको निजी लडाइँ होइन,’ उनले भने, संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको लडाइँ हो । यो संघर्षमा जित्न सकेनौं भने नेपाली जनता हार्नेछन् । नेपाल राष्ट्र हार्नेछ ।’

नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उनीसँग साइबर सेना मात्रै रहेको दाबी गरे । 'चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै छन् । भक्तहरु मात्रै छन् । त्यहाँ क्रान्तिकारीहरु, योद्धाहरु हैन । साइबर सेना मात्रै छ । परिवर्तनको चाहना राख्नेहरु हामीसँग छन्,' नेपालले भने ।

अध्यक्ष नेपालले ओली र नेपाल कम्युनिस्ट पार्टीबीच अब कुनै सम्बन्ध नभएको दाबी गरे । केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकाली सकेका छौं । अब उनको नेकपासँग कुनै सम्बन्ध छैन । तैपनि उनलाई नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली बा समूह समूह बनाए सबैभन्दा राम्रो,’ उनले भने ।

संविधान, कानुनबमोजिम सर्वोच्च र निर्वाचन आयोगबाट फैसला हुने विश्वासमा आफूहरु रहेको उनको भनाइ छ । '४३३ जनाको केन्द्रीय कमिटीमा झण्डै ३ सयको हाराहारीमा सदस्यहरु हाम्रो साथमा छन् । केपीको पक्षमा १०० जति पनि छैनन् । हामीलाई विश्वास छ, अदालत, निर्वाचन आयोगबाट संविधान र कानुनअनुसार फैसला हुनेछ,' नेपालले भने, 'जहाँ हामी छौं, सूर्य चिन्ह त्यहीँ आउँछ ।'

ओलीले चुनाव पनि नगराउने र देशलाई द्वन्द्वमा धकेल्न खोजेको नेपालको आरोप छ ।

प्रकाशित : माघ २६, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?