कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

'सयौं नेता कार्यकर्ता पक्राउ परेका छन्, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरियो'

काठमाडौँ — प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए ।

नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

बिहीबार नेकपाको दाहाल-नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो ।

बन्द खुलेकोबारे श्रेष्ठले भने, 'नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।'

शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल लगाएको श्रेष्ठले दाबी गरे । उनले भने, 'हामीले शान्तिपूर्ण बन्द आह्वान गर्दा पनि प्रहरीले विभिन्न ठाउँमा बल प्रयोग गरेको छ । हाम्रा सयौं नेता कार्यकर्ता घाइते भएका छन् । सयौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।'

बन्दका क्रममा नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झालगायतका नेताहरू घाइते भएका छन् । टाउकोमा चोट लागि गम्भीर घाइते भएका नेता झालाई जनकपुरबाट काठमाडौं रिफर गरिएको छ ।

दाहाल-नेपाल पक्षले गरेको बन्दमा घाइते भएका र पक्राउ परेका नेता र कार्यकर्ताः

१. कलंकीबाट स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेल, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापालगायतका नेता–कार्यकर्ताहरुलाई बिहानै गिरफ्तार गरिएको छ ।

२. चाबहिलबाट केन्द्रीय कमिटी सदस्य कृष्ण के.सी. सहितका नेताहरुलाई गिरफ्तार गरिएको छ भने बागबजारबाट युवा नेता रमेश मल्लसहित विद्यार्थीहरुलाई गिरफ्तार गरिएको छ ।

३. काठमाडौँका विभिन्न स्थानबाट गिरफ्तार गरिएका ७२ जना नेता–कार्यकर्तालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा राखिएको छ ।

४. तनहुँमा केन्द्रीय कमिटी सदस्य प्रतापलाल श्रेष्ठका साथै अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, विष्णुभक्त सिग्देल, श्रीराम कार्कीसहित १६ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।

५. जनकपुरमा आम हडतालका क्रममा निस्किएको जुलुशमाथि पछाडिबाट फायर चलाइएको छ । केन्द्रीय कमिटी सदस्य रामचन्द्र झाको टाउको तीन ठाउँमा गम्भीर चोट लागेको छ भने स्थायी कमिटी सदस्य मात्रिका यादवको खुट्टामा चोट लागेको छ । प्रहरीको प्रहारबाट कारिराम यादवको टाउको र उमेश साहको हात र छातीमा गम्भीर चोट लागेको छ । १० जना कार्यकर्तालाई घाइते बनाइएको छ । त्यहाँ १२ जनालाई गिरफ्तार गरिएको छ ।

६. वीरगञ्जमा रामबाबु बैठा, रहबर अन्सारी, मनोज चौधरी, प्रभाकर गुप्तालगायतका ३५ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।

७. सिराहामा विवेक परियार, विराट मण्डललगायतका नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।

८.बाराबाट मुकेश साह, जवाहिर अन्सारी, हरिओम साह, राजेश पटेलसहित ६ जना नेताहरुलाई गिरफ्तार गरिएको छ ।

९.विराटनगरमा पारुल क्षेत्रीसहित ७ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ भने धरानमा तीन जनालाई गिरफ्तार गरिएको छ ।

१०. कास्कीमा विनायक तिमिल्सेनालाई गिरफ्तार गरिएको छ ।

प्रकाशित : माघ २२, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?