कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल-नेपालले अनैतिक र अलोकतान्त्रिक कार्य गरिरहेका छन् : उपप्रधानमन्त्री  पोखरेल

दाहालले जनमुक्ती सेनाको पैसा लुटे : प्रभु साह
अवधेशकुमार झा

राजविराज — उपप्रधानमन्त्री इश्वर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाल अनैतिक र अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाएका छन् ।

दाहाल-नेपालले अनैतिक र अलोकतान्त्रिक कार्य गरिरहेका छन् : उपप्रधानमन्त्री  पोखरेल

ओली पक्षीय कार्यकर्ता भेलालाई मंगलबार सप्तरीको राजविराजमा सम्बोधन गर्दे पोखरेलले भने,‘केपी ओलीको नाम लिएर मत लिने अनि दुई वर्ष नबित्दै ओलीलाई हटाउन धक्का दिन थाल्ने,यो अनैतिक र अलोकतान्त्रिक कार्य हो ।’

निर्वाचन आयोगको फैसला नेकपाको फुटविरुद्ध रहेकाले प्रधानमन्त्री ओलीमाथिको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जाने स्वीकारोक्तीसहित पार्टीमा फर्किन दाहाल र नेपाललाई आग्रह गरे । ‘कान खोलेर सुन्नुस प्रचण्डजी,’ पोखरेलले भने,‘केपी ओलीको हस्ताक्षरवाट मात्र टिकट वितरण हुने भएकाले निर्वाचनमा जाने स्वीकारोक्ती र ओलीमाथि अगाउनुभएको आरोप फिर्ता लिई निर्वाचन लडन आउनुस् ।’ महाधिवेशनसम्म सहमतिमै जाने निर्णय हुँदा समेत सहमति विपरित प्रचण्ड र नेपालले पार्टी फुटाउन खोजेको उनले आरोप लगाए ।

‘जनता न्यायाधीश हुन्,जनताको बीचमा गएर जनादेश लिन के को अप्ठ्यारो’ पोखरेलले भने,‘केपी ओलीलाई अनैतिक र अलोकतान्त्रिक तरिकाले धक्का दिएर पार्टी अध्यक्षबाट हटाउने षडयन्त्र सफल हुन दिँदैनौं ।’ ‘चोक चौतारीमा बसेर माधव नेपाललाई अध्यक्ष बनाउने कार्य निर्वाचन आयोगले अस्वीकार गरेको छ,’ पोखरेलले भने,‘दाहाल – नेपालको हरेक षड्यन्त्रलाई असफल पार्छौं ।’

सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्र रहने बताउँदै उपप्रधानमन्त्री पोखरेलले दहाल र नेपाललाई लक्षित गरी भने,‘चित्त नबुझे अलग भएर नक्कली सक्कली,आइतबार सोमबार जुन पार्टी बनाउनु छ बनाउनु । प्रचण्डजीलाई चाडो चाडो प्रधानमन्त्री बन्ने लालसा छ । आफ्नो मान्छेलाई मन्त्री र राजनीतिक नियुक्ती गराउनु मात्र उहाँको उद्देश्य छ ।’

कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहले दाहालले जनमुक्ती सेनाको रकम लुट्ने लुटेरा भएको आरोप लगाए । ‘जनमुक्ती सेनाको बलमा प्रचण्डले उचाइ प्राप्त गरे तर त्यही सेनाको पैसा लुटे,’ साहले भने,‘माओवादीको विरासत प्रचण्डले बेचे ।’ वर्तमान सरकार जनमुक्ती सेनालाई सम्मान र स्वास्थ्य उपचारका लागि आवश्यक निर्णय गरेको बताउँदै साहले भने,‘सत्ता र स्वार्थका लागि प्रचण्डले एक एक गरी माओवादीका मुद्दा बेचे । प्रचण्ड ३० वर्षदेखि पार्टी अध्यक्ष थिए,उनमा पदको लत लागेको छ ।’ पद बिना एक मिनेट पनि बाहिर बस्न नसक्ने दाहालको बानी रहेको मन्त्री साहले दाबी गरे । माधव नेपाल पनि सत्ता र पदको भोको भएको उनले आरोप लगाए ।

नेकपाको ओली पक्षद्धारा मंगलवार राजविराजमा आयोजित कार्यकर्ता भेलामा उप प्रधानमन्त्री इश्वर पोखरेल लगायतका नेताहरु । तस्बिर अवधेश/कान्तिपुर

२ नेकपाओली पक्षद्धारा मंगलवार राजविराजमा आयोजित कार्यकर्ता भेलाका सहभागीहरु । तस्बिर अबधेश/कान्तिपुर

प्रकाशित : माघ १३, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?