अदालतलाई धम्क्याउने ट्रम्प प्रवृत्ति नेपालमा पनि पराजित हुन्छ : मीनेन्द्र रिजाल

माघ ८, २०७७

नगेन्द्र अधिकारी

काभ्रे — कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले कम्युनिष्टको अडानकै कारण संसद् विघटन नहुने व्यवस्था संविधानमा राखिएको तर्क गरेका छन् ।

२०७० सालको संविधान मस्यौदा समितिका सदस्य समेत रहेका पूर्वमन्त्री रिजालले प्रधानमन्त्रीलाई ताजा जनादेशमा जाने बाटो राख्‍न आफूले प्रस्ताव गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रले विरोध जनाएको दाबी गरे । ‘५ वर्षको बीचमा ताजा जनादेशमा जान सकिने कही त बाटो राख्नुपर्छ भन्ने कांग्रेसको विचार थियो, तर तत्कालीन एमाले र माओवादीका नेताले नै विरोध गर्नुभयो,’ कांग्रेसको बनेपा वडा नम्बर ७ ले बनेपामा गरेको विरोध सभामा रिजालले भने, ‘कम्युनिष्टकै अडानका कारण प्रतिनिधीसभा विघटन गर्न नमिल्ने, २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने लगायतका विषय परेका हुन् ।’

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत कांग्रेसका केन्द्रीय सदस्य रिजालले संसद् पुनःस्थापना भएपछि बहुमत सिद्ध गर्न नसके सहमतिमा निर्वाचनमा जान आफूहरु तयार भएको बताए । ‘कांग्रेस निर्वाचनमा जान डराएको हैन तर पहिला संविधान जोगाऔं,’ रिजालले भने, ‘सनकका भरमा गरिएको मध्यावधि निर्वाचन गरेर के गर्ने, फेरी विघटन गर्ने ?’

तत्काल निर्वाचनमा जाँदा कांग्रेसले फाइदा लिन सकेपनि संविधान भत्किएकोमा चिन्ता लिएर असंवैधानिक कदमका विरुद्धमा उभिनुपर्ने उनले बताए । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालत धम्क्याउन लागेको तर्क गर्दै असंवैधानिक कदम फिर्ता गराएरै छाड्ने दाबी गरे । ‘अदालतलाई धम्क्याउने ट्रम्प प्रवृत्ति अमेरिकामा पराजित भयो, नेपालमा पनि पराजित हुन्छ,’उनले भने ।

कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले दुई तिहाईको सरकारले काम गर्न नसकेपछि अनेक बहाना बनाएर संसद् विघटन गरेको बताए । संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री समेत रहेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति कञ्चनचन्द्र बादे श्रेष्ठले संविधानको हत्या भएको तर्क गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने फैसला मान्न कांग्रेस तयार भएको बताए ।

कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष रोहित बादे, कोषाध्यक्ष कृष्णगोपाल पाण्डे, जिल्ला सदस्यहरु मनिषा बादे, सिता प्रजापति, नेकपाका डम्बरबहादुर घिसिङलगायत ५० भन्दा बढी विभिन्न दलका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।

संसद् विघटननेकपा विवाद

नगेन्द्र

Link copied successfully