१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आन्दोलन प्रधानमन्त्री फेर्नकै लागि मात्रै हुने हो भने जनता सडकमा आउँदैनन् : वाग्ले

‘हिजोका आन्दोलनका घाइतेहरुको घाउ आलै छ । अब फेरि हिंसात्मक आन्दोलन हुनु हुँदैन ।’
‘सुवास नेम्बाङलाई यति निरीह कसले बनायो ?’

काठमाडौँ — पत्रकार नारायण वाग्लेले प्रतिनिधिसभाविरुद्धको आन्दोलनलाई प्रधानमन्त्री फेर्ने साधन बनाए जनता सडकमा नआउने बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै वाग्लेले आन्दोलनको उद्धेश्य प्रतिगमन लखेट्नुपर्ने हुनुपर्ने बताएका हुन् । 

आन्दोलन प्रधानमन्त्री फेर्नकै लागि मात्रै हुने हो भने जनता सडकमा आउँदैनन् : वाग्ले

‘अहिलेको आन्दोलन प्रधानमन्त्री फेर्नकै लागि मात्र हो भने जनता सडकमा आउँदैनन् । यदि प्रतिगमन लखेट्ने आन्दोलन हो भने तपाईंहरुले भन्न सक्नुपऱ्यो केका लागि आन्दोलन हो,’ प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत पार्टीका नेताहरुलाई सचेत बनाउँदै वाग्लेले भने ।

साथै अबको आन्दोलन मांसाहारी हुनुपर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति पनि वाग्लेले आपत्ति जनाए । ‘हिजोका आन्दोलनका घाइतेहरुको घाउ आलै छ । अब फेरि हिंसात्मक आन्दोलन हुनु हुँदैन । त्यो राम्रो होइन, त्यसले प्रतिगमनलाई नै सक्रिय बनाउँछ । सत्ताले आन्दोलन नै भड्कियोस् भन्ने चाहन्छ । सत्ताबाट थप दमनको सम्भावना भएकाले नेतृत्वबाट शान्तिपूर्ण आन्दोलनको प्रतिबद्धता चाहिन्छ,’ वाग्लले भने ।

त्यस्तै अर्को प्रसंगमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङ यतिबेला सबैभन्दा निरीह पात्रका रुपमा देखा परेको पनि वाग्लेले टिप्पणी गरे । ‘आज नेपालमा सबैभन्दा निरीह दुई कार्यकाल संविधानसभाका अध्यक्ष भएका व्यक्ति देखिएका छन् । ती व्यक्ति कसरी यति निरीह भए, कसले बनायो यति निरीह ?,’ वाग्लले प्रश्न गरे ।

त्यस्तै प्रतिपक्ष दल पनि अहिले निरीह देखिएको टिप्पणी गर्दै पत्रकार वाग्लेले भने, ‘आजको प्रतिपक्ष नेतृत्व किन लाचार छ ? प्रतिपक्ष दलको नेता प्रधानमन्त्रीको दैलोमा चाहर्नुपर्ने बाध्यता के हो । तपाईंहरुको संघर्ष त केबल कुर्सीका लागि हो भन्ने हामीले बुझिरहेका छौं । के यो लोकतन्त्र हो ?’ प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा हात फैलाएर जानुपर्ने कुरालाई लोकतन्त्र र शक्ति सन्तुलन कायम भएको मान्न नसकिने पनि वाग्लेको भनाइ थियो ।

हिजोको जनआन्दोलनमा गरिएका वाचाहरुमा कहाँकहाँमा नेतृत्व कहाँकहाँ चुक्यो भन्ने कुरा उल्लेख गरी आन्दोलनरत पार्टीहरुले बडापत्र सार्वजनिक गर्नुपर्ने पनि उनको भनाइ थियो ।

आफू सक्रिय पत्रकारितामा रहँदा सधैँ जनताका आवाज उठाउने गरेको उल्लेख गर्दै पत्रकार वाग्लेले भने, ‘पहिले म सक्रिय पत्रकार थिएँ, अहिले मसँग पत्रिका नभएकाले म माइक समात्न गएँ । हामीहरु माइतीघरबाटै प्रतिगमनविरुद्ध खबरदारी गरिरहेका छौं ।’

उनले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतका नेताहरुले पनि केपी शर्मा ओलीले गलत कदम चालिरहँदा किन खबरदारी नगरेको भन्दै प्रश्न गरे । देश र नागरिक कोरोना महामारीले आक्रान्त हुँदा संसद् बैठक आह्वान नगर्ने भन्दै वाग्लले आक्रोश व्यक्त गरे । अहिले संविधान मृत अवस्थामा रहेको र नेतृत्वले अब यसलाई ब्युझाउँने प्रतिबद्धतासहित अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित : माघ ६, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?