कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेकपामा कार्यक्रम र कार्यकर्ता तान्‍न प्रतिस्पर्धा

काभ्रे — प्रतिनिधिसभा विघटनदेखि विभाजित नेकपाका दुई  समूहबीच कार्यक्रम र कार्यकर्ता आफ्नो पक्षमा तान्न प्रतिस्पर्धा चलेको छ । दुवै समूह समानान्तर बैठक र कार्यक्रम राखेर कार्यकर्ता आफ्नो पक्षमा पार्ने होडमा छन् ।

नेकपामा कार्यक्रम र कार्यकर्ता तान्‍न प्रतिस्पर्धा

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले उक्त कदम असंवैधानिक भन्दै आन्दोलनमा उत्रिएका छन् । काभ्रेमा पनि दाहाल –नेपाल समूहमा रहेका जिल्ला अध्यक्ष रुकु चौलागाई र टोकबहादुर वाइवाले उक्त कदम सच्याउन माग गर्दै पुस ६ गते विज्ञप्ती जारी गरेका थिए भने सोही समूहले जनवर्गीय संगठन मोर्चाको नाममा बनेपामा विरोध र्‍याली गरेको थियो ।

पुस ७ गते ओली पक्षका नेता तथा कार्यकर्ताले बनेपास्थित नेकपाको पार्टी कार्यालयमा छुट्टै ताला लगाएका थिए । साविक एमालेले निर्माण गरेको कार्यालयमा लगाइएको पुरानो ताला हटाएर ओली समूहले अर्को ताला लगाउँदै अर्को समूहलाई प्रवेश नदिने घोषणा गरेको छ । दुवै समूहले छुट्टाछुट्टै भेला र बैठक समेत गर्दै आएका छन् । ‘पार्टी एकता लगत्तै यति धेरै सक्रियता देखाएको भए संगठन निकै बलियो हुन्थ्यो,’ नेकपाका एक कार्यकर्ताले भने, ‘गुटका कार्यक्रम गर्न सक्ने तर एक हुँदा किन हुन सकेन ?’

केन्द्रमा फुट देखिएपछि तल्लो तहसम्म यसको असर देखिएको छ । पुस १२ गते दाहाल–नेपाल समूहले अगुवा कार्यकर्ता भेला गरेपछि साविक एमाले र माओवादी केन्द्रको एकतापछि अध्यक्ष र सचिवको जिम्मेवारी तोकिएका काभ्रे जिल्ला अध्यक्ष र सचिवलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षले हटाएको घोषणा गर्यो । जिल्ला कमिटीका ओली पक्षीय ‘बहुमत सदस्य’को बैठकले अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइवालाई ‘पदमुक्त’ गरेको थियो । साविक एमालेका उपाध्यक्ष रहेका अशोककुमार व्याञ्जु श्रेष्ठलाई अध्यक्ष र नारायण पाण्डेलाई सचिवको जिम्मेवारी तोकिएको छ । दुवै जना ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य समेत हुन् । लगत्तै पुस २५ गते ओली समूहले पनि बनेपामा अगुवा कार्यकर्ता तथा विस्तारित बैठक गर्दै ६ सय ९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । माघ ९ र १० गते बनेपामा सपथग्रहण र प्रशिक्षण समेत राखिएको जिल्ला अध्यक्ष व्याञ्जुले जानकारी दिए । पुस २५ नै गते दाहाल–नेपाल समूहले पाँचखाल नगरस्तरीय अगुवा कार्यकर्ता भेला गरेका थिए । माघ ३ गते पनौतीमा युवा संघ नेपाल जिल्ला कमिटीको नाममा ओली समूहले प्रशिक्षण कार्यक्रम राखेका छन् भने दाहाल–नेपाल समूहले नमोबुद्ध नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरेको छ ।

नेता कार्यकर्ता विभाजित

पार्टी फुटको असर जिल्ला जिल्लामा देखिन थालेको छ । ओलीको पक्षमा केही पूर्व माओवादी नेता कार्यकर्ता देखिएका छन् भने ओली पक्षमा खुलेका केही नेता अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षतर्फ लागेका छन् । मण्डनदेउपुर नगरपालिका प्रमुखको प्रत्यासी रिता ढकाल, रुकमणि गुरुङ (बराइली), प्रकाश गौतम लगायतका पूर्व माओवादीका नेता ओली समूहमा देखिएका छन् भने ओली पक्षमा रहेका प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई लगायत केही दाहाल–नेपाल पक्षमा खुलेका छन् ।

काभ्रेमा ओली समूहको नेतृत्व पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्छन् भने पूर्वसांसदहरु कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, सूर्यमान दोङ, गंगाबहादुर दोङ, कमला दोङ, तेजबहादुर मिजार, रेणुका चौलागाई, प्रदेश सभा सदस्यहरु रत्न प्रसाद ढकाल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई लागयतका नेताहरु दाहाल–नेपाल समूहमा छन् । संविधानसभा सदस्य रामहरी सुवेदी, पूर्वराज्यमन्त्री रेशम लामा, प्रदेश सभा सदस्य चन्द्र लामा, गोमा भुर्तेल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, अशोककुमार व्याञ्जु, भीम न्यौपाने लगायतका नेता ओली पक्षमा छन् ।

स्थानीय तहका प्रमुख पनि ओली र दाहाल–नेपाल समूहमा विभाजित भएका छन् । ओली समूहका जनप्रतिनिधिले मण्डनदेउपुर नगरपालिकाको आठौं सभा बहिष्कार गरेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल–नेपाल समुहका जिल्ला सचिव टोकवहादुर वाइवा नगरप्रमुख छन् । उपप्रमुख निर्मला शाही स्वास्थ्यको कारण देखाउँदै सहभागी भइनन् । नगरसभा सञ्चालनको विधि र प्रक्रिया मिचेको, बजेट विनियोजन एकलौटी गरेको र तयारी बिना नै सभा सञ्चालन गरेको भन्दै ओली पक्षका जनप्रतिनिधीले नगरसभाको पहिलो बैठक बहिष्कार गरेका हुन् ।

प्रकाशित : माघ ४, २०७७ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?