कोभिड निको भएका बालबालिकामा ‘एमआईएस-सी’

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ संक्रमित बालबालिकामा मल्टिसिस्टम इन्फ्लामेट्री सिन्ड्रोम (एमआईएस–सी) भएको पाइएको छ । यो रोगले ज्यानै लिन सक्ने भएकाले सावधान रहन अभिभावक र चिकित्सकलाई बालरोग विशेषज्ञले सुझाव दिएका छन् ।

कोभिड निको भएका बालबालिकामा ‘एमआईएस-सी’

उनीहरूले बालबालिकालाई कोभिड संक्रमण हुन नदिनका लागि जनस्वास्थ्यका उपाय अपनाउन र संक्रमण भइहाले स्वास्थ्य संस्थामा तत्काल लगेर उपचार गराउन जोड दिएका छन् ।

विशेषज्ञका अनुसार एमआईएस–सी भएका बालबालिकाको शरीरमा विषाक्त तत्त्व उत्पन्न हुन थाल्छ र शरीरभरि फैलिन्छ । यसको असर अरू महत्त्वपूर्ण अंगहरूमा पर्छ । एकै साथ थुप्रै अंगको काम बन्द हुने र बच्चाको ज्यान जाने जोखिम हुन्छ । अन्य कारणले समेत हुन सक्ने भए पनि हाल यो रोग मुख्य रूपमा कोभिड भाइरससँग प्रभावित वा निको भइसकेका बालबालिकालाई देखिएको छ । हालसम्म नेपालमा ३ देखि १४ वर्षसम्मका ५ बालबालिकालाई कोभिडका कारण ‘एमआईएस–सी’ भएको पाइएको छ । तर विज्ञहरूले रोगको पहिचान नभएका वा पहिचान भए पनि रिपोर्ट हुन नसकेका यस्ता समस्या भोग्ने बालबालिकाको संख्या योभन्दा बढी रहेको आकलन छ ।

यो रोगको संक्रमण भएका तीन वर्षका एक बालिका र ५ वर्षका एक बालक कान्ति बाल अस्पतालमा उपचाररत छन् । तीन महिनाअघिसमेत एक ५ वर्षीय बालकले एमआईएस–सीको उपचार गरेको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए । ती बालकको मुटुमा रगत आपूर्ति गर्ने धमनी साँघुरो भएको थियो । कान्ति बाल अस्पतालमा देखिएका तीनवटै ‘एमर्आइएस–सी’ केसमा एन्टिबडी परीक्षण गर्दा उनीहरूलाई पहिले नै कोभिड रहेको पाइएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा समेत करिब तीन महिनाअघि कोभिड वार्डको भेन्टिलेटरमा समेत उपचार गराएका १४ वर्षे बालकलाई एमआईएस–सी जस्तै लक्षण देखिएको थियो । प्रतिष्ठानका बालरोग विभागका प्रमुख डा. प्रकाश पौडेलका अनुसार एमआईएस–सीले उनको शरीरको प्रणाली प्रभावित भएको थियो । गत साता त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर घर फर्किएका ७ वर्षीय बालकमा समेत यो समस्या देखिएको थियो । उच्च ज्वरो, पेट दुख्ने, बान्ता, सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएका ती बालक चितवनमा ९ दिनसम्म उपचार गराए पनि निको नभएपछि शिक्षण अस्पताल आएका थिए । ‘हामीकहाँ आइपुग्दा बालकको हार्ट फेलियरको अवस्था थियो,’ शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. सिर्जना बस्नेतले भनिन्, ‘तीन–चार दिन त कुन समस्या हो थाहा पाउनै अलमलियौं ।’

ती बालकको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । बालकलाई कहिल्यै पनि कोभिडको लक्षण देखिएको थिएन । ‘तर उनको एन्टिबडी पोजिटिभ आउँदा एसिम्प्टोम्याटिक (लक्षण नभएको) कोभिड भइसकेको आकलन गरियो,’ डा. बस्नेतले भनिन्, ‘बच्चाका अभिभावकले दसैंमा परिवारका अन्य सदस्यलाई रुघाखोकी आएको बताएका थिए ।’

जर्नल ‘इक्लिनिकल मेडिसिन’ का अनुसार एमआईएस–सीले बच्चाको मुटु यसरी क्षतिग्रस्त गर्न सक्छ कि उनीहरूले लामो जीवनकालसम्म चिकित्सकको निगरानीमा गुज्रिनुपर्ने हुन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो नयाँ सिन्ड्रोमबारे जानकारी जुटाउन करिब ७ महिनाअघि नै विश्वका वैज्ञानिकहरूलाई आह्वान गरेको थियो । अमेरिका र युरोपेली मुलुकका करिब ३ सय बालबालिका प्रभावित भइसकेपछि इटलीका अनुसन्धानकर्ताले कोभिड भाइरस र यो रोगबीच सम्बन्ध खोजेका थिए । रिपोर्टमा बच्चाका लागि कोभिडपछि यो रोगको बढी खतरा हुने उल्लेख छ । नेपालमा समेत कोभिडबाट बढी प्रभावित काठमाडौं उपत्यका, वीरगन्ज, विराटनगरलगायत ठाउँका बालबालिकामा एमआईएस–सीको समस्या देखिएको हुन सक्ने डा. पौडेलले बताए । ‘यो धेरै खतरनाक हो । यसले बालबालिकालाई हार्ट अट्याक, हार्ट फेलियर लगायतका स्वास्थ्य समस्या गराउन सक्छ ।’

सरकारी तथ्यांकअनुसार मुलुकमा हालसम्म २० वर्षसम्म उमेरका २२ हजार ३ सय ११ जना कोभिड संक्रमित भइसकेका छन् । हालसम्म १० वर्षसम्म उमेरका ६ हजार ३३ जना संक्रमित भएका छन् । ११ देखि २० वर्ष उमेर समूहका १६ हजार २ सय ७८ जना छन् । एमआईएस–सीमा ज्वरो, पेट दुख्नु, बान्ता, पखाला, घाँटी दुखाइ, बिमिरा, आँखा रातो हुनु, अतिरिक्त थकाइ अनुभव हुनु जस्ता लक्षण देखिन्छ ।

प्रकाशित : मंसिर २९, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?