जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौं : मन्त्री पौडेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौं : मन्त्री पौडेल

रासस

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाचौं महासभालाई शनिबार सम्बोधन गर्दै उनले भने, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।” उनले मुलकको आर्थिक क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गरे ।

“यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौँ, अहिले कोभिडलाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ,” उनले भने । मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोभिडका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कोरोनाकै बीचमा पनि सरकार उत्पादन र लगानीका क्षेत्रमा काम गर्न सकिने अनुकूल आधार निर्माण गर्नेतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले भोग्नु परेको समस्या समाधानतर्फ केन्द्रित भएको पनि प्रष्ट पारे । उनले कोभिडसँगै देशले भोगिरहेको आर्थिक क्षेत्रलाई उकास्ने गरी रचनात्मक र आलोचनात्मकरुपमा प्रस्तुत हुन सञ्चार क्षेत्रलाई अपिल गरे । नाफिजका अध्यक्ष सीताराम भट्टराईले पत्रकारको हकहित, क्षमता वृद्धिसँगै समग्र देशको आर्थिक क्षेत्रको विकासमा सहयोग प¥याउने गरी संस्थाले काम गर्दै आएको बताए ।

प्रकाशित : मंसिर २७, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

रासस

काठमाडौँ — शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको हो ।

पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागल जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति प्रदेश नम्बर १, दुई, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि माध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : मंसिर २७, २०७७ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×