भक्तपुर नगरपालिकामा कक्षा ८ देखि १० सम्मका कक्षाहरु सञ्चालन हुने

मंसिर २६, २०७७

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर नगरपालिकाले आगामी पुस १ गतेबाट कक्षा ८ देखि १० सम्मका कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवं नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको कोरोना भाइरस (कोभिड–१९) जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालन सम्बन्धी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले कोभिड–१९ रोगको महामारीको कारण लामो समयदेखि बन्द रहेको विद्यालयमा हालका दिनहरूमा विद्यालयहरूले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरू सञ्चालन गरिरहेको छ ।

नगरवासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूबाट प्राप्त राय सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम नगरभित्रका विद्यालयहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आलोपालो गरी चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्दै जाने र विद्यालयहरूले हाल सञ्चालन गरिरहेको वैकल्पिक शिक्षण विधिलाई समेत निरन्तरता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले २०७७ पुस १ गतेदेखि नै सञ्चालन गर्ने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावना सहितको कार्ययोजना भक्तपुर नगर शिक्षा शाखामा पेश गरेर कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय गरेको नगरप्रमुख प्रजापतिले बताए । 

विद्यार्थी संख्या एक सय भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको समेत उनले बताए ।

बैठकले सबै प्रकारका सामुदायिक एवं संस्थागत विद्यालयहरूले कक्षा सञ्चालन सम्बन्धमा विद्यालयहरूबाट विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसँग सरसल्लाह गरेको बैठकको निर्णयको फोटोकपीसहित मंसिर मसान्तभित्र विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना नगर शिक्षा शाखामा पेश गर्नुपर्ने निर्णय गरेको छ । 

विद्यालय सञ्चालन अन्योल भइरहेको बेला नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी तथा अभिभावक संघका प्रतिनिधिहरूसँग पनि विद्यालय सञ्चालन के कसरी गर्नु उपयुक्त हुने भनि चरणबद्ध छलफल गरी सुझावहरु संकलन गरेको नगरप्रमुख प्रजापतिले बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully