कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण फैलिएपछि विद्यालय पुनः बन्द

डडेलधुरा — कोरोना संक्रमण फैलिन थालेपछि डडेलधुराको अजयमेरु गाउँपालिकाका दुई विद्यालय बिहीबारदेखि पुनः बन्द भएका छन् । बुधबार गाउँपालिकाका देवल माध्यमिक विद्यालय र खोली प्राथमिक विद्यालयका शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरिएको हो ।

दुई साताअघि गाउँपालिकाका उपाध्यक्ष कलावती भाणसहित १२ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि पालिका केन्द्रमा रहेको माध्यमिक विद्यालय पनि बन्द गरिएको थियो । ‘शिक्षक, विद्यार्थी, स्थानीय स्वास्थ्यकर्मी र एकजना प्रहरी जवानसहित १६ जनामा कोरोना पुष्टि भएको छ,’ गाउँपालिका प्रमुख उमेश भट्टले भने, ‘सुरुमा दुईजना शिक्षकमा कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि संक्रमण फैलिँदै जान थालेपछि दुवै विद्यालय, वडा कार्यालय र अन्य कार्यालयहरू बन्द गरिएको हो ।’

गाउँपालिका अध्यक्ष भट्टका अनुसार संक्रमण पुष्टि भएका शिक्षक, कर्मचारी र विद्यार्थी सबैको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गर्न सुरु गरिएको छ । ‘सम्पर्कमा आएकाहरू आफैं पनि स्वाब दिन स्वास्थ्य संस्थामा पुग्न थालेका छन्,’ उनले भने, ‘गाउँपालिकाले स्वास्थ्य टोली नै गठन गरी विभिन्न ठाउँमा स्वाब संकलन सुरु गरिसकेको छ ।’

सरकारले विद्यालय खोल्ने नखोल्ने जिम्मेवारी स्थानीय तहलाई दिएपछि डडेलधुराका सबै स्थानीय तहले एक साता अघिदेखि विद्यालय सञ्चालन गरेका हुन् । अजयमेरु गाउँपालिकाबाहेक अहिलेसम्म अन्य कुनै पनि विद्यालय कोरोना संक्रमणका कारण बन्द भएका छैनन् । भागेश्वर गाउँपालिका शिक्षक संघका अध्यक्ष रोहित भट्टले अजयमेरुसँग जोडिएका पालिकाका विद्यालयमा पनि समस्या हुने देखिएको बताए ।

प्रकाशित : मंसिर २७, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?