कोरोनाको बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने

मंसिर २२, २०७७

रासस

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले अस्पतालहरुलाई कोभिड-१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत उनले बताए ।

'कोभिड–१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,' उनले सूचना जारी गर्दै भनेका छन्, 'कोभिड–१९ को संक्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ ।'


कोरोना भाइरस

रासस

Link copied successfully