धनकुटामा कोरोनाबाट एकको मृत्यु

मंसिर २१, २०७७

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा कोरोना भाइरस संक्रमणबाट आइतबार एक वृद्धको मृत्यु भएको छ । पाख्रिबास नगरपालिका-९ उत्तरपानीका ६१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि गत बुधबार उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । पीसीआर जाँच गराउँदा पोजिटिभ देखिएपछि होम आइसोलेसनका लागि घर ल्याउने क्रममा मृत्यु भएको जनाइएको छ । नेपाली सेनाले मृतकको अन्त्यष्टि गरेको छ ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए । हालसम्म जिल्लामा १ सय ९० जना संक्रमित भएकोमा १ सय ५२ निको भइसकेका छन् । २९ जना होम आइसोलेशनमा छन् ।

कोरोना भाइरस

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully