राष्ट्रिय गौरवका आयोजनामा परेको कोरोना प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौँ — राष्ट्रिय गौरवका आयोजना निर्माणमा कोरोना भाइरस (कोभिड- १९)ले पारेको प्रभाव अध्ययन गर्नका लागि संसदीय उपसमिति गठन भएका छन् ।

राष्ट्रिय गौरवका आयोजनामा परेको कोरोना प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन

चालु २२ वटा राष्ट्रिय गौरवका आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्न र त्यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उपसमिति गठन गरेको हो ।

राष्ट्रिय सरोकार तथा समन्वनय समितिको मंगलबारको बैठकले २२ वटा राष्ट्रिय गौरवका आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्नका लागि तीनवटा उपसमिति गठन गरिएको समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले जानकारी दिइन् ।

१४ सदस्यीय समितिलाई तीन समूहमा विभाजन गरिएको छ । दुई समूहलाई सात-सात राष्ट्रिय गौरवका आयोजना र एउटा समूहलाई आठ परियोजनाको अध्ययनको जिम्मा दिइएको सभापति रावलले जानकारी दिइन् । प्रत्येक समूहमा चार-चार सांसदहरू रहेका छन् ।

राष्ट्रिय गौरवका आयोजनामा विभिन्न सिंचाइ आयोजना, विभिन्न जलविद्युत् आयोजना, विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलहरू, रेल्वे तथा मेट्रो विकास आयोजना, विभिन्न सडक आयोजना, मेलम्ची खानेपानी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम रहेका छन् ।

सबै उपसमितिले संयोजक आफैं चयन गर्ने र समूहमा छलफल गरेपछि आयोजनासँग सम्बन्धित अधिकारी र विज्ञहरूसँग छलफल गर्ने जिम्मेवारी दिइएको सभापति रावलले जानकारी दिइन् । संसदीय उपसमितिहरूले आवश्यकताअनुसार आयोजनास्थलमा पुगेर निरीक्षण गर्ने उनको भनाइ थियो । 'राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न नहुने अवस्था हाम्रो छ ।

कोभिडका कारणले कति असर भएको छ भन्ने जानकारी लिन र ती असरलाई कसरी कम गर्न सकिन्छ भनेर छलफल गर्नका लागि उपसमिति गठन गरिएका हुन् । आयोजना छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेबारे छलफल हुनेछ,' सभापति रावलले भनिन् ।

विज्ञ र सरोकारवाला पक्षसँग छलफल गरी प्रतिवेदन तयार पार्ने र सरकारलाई सोहीअनुसार गर्न निर्देशन दिने सभापति रावलले बताइन् । उपसमितिहरूले तत्काल काम थाल्ने उनको भनाइ छ ।

प्रकाशित : मंसिर १६, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?