४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन माग गरेको छ ।

परीक्षण नमुना तोकिएका समयमा भण्डारण नगरेका कारण स्पष्टिकरण सोधिएको बताइएको छ ।

स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र मन्त्रालयले स्पष्टिकरण दिन माग गरेको हो ।

मन्त्रालयले भदौ ३१ गतेको कोभिड–१९ को पीसीआर परीक्षण गर्दा सबै प्रयोगशालाले नेगेटिभ रिपोर्ट आएको हकमा एक महिना र पोजिटिभ रिपोर्टको हकमा ३ महिनासम्म नमुना स्टोर गरी राख्नु पर्ने निर्णय गरेको थियो ।

यी नियम पालना नगरिएकाले यी प्रयोगशालालाई स्पष्टिकरण माग गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराए ।

त्यसैगरी स्वीकृत प्राप्त प्रयोगशालामा कोभिड-१९ को पीसीआर परीक्षण गरि नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई र जापान गएका व्यक्तिले सम्बन्धित देशमा त्यहाँ पुनःपरीक्षण गर्दा पोजिटिभ आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि छानबिन गरेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको संयोजकत्वमा छानबिन टोलीले स्थलगत अनुगमन गरेको प्रवक्ता डा. गौतमले बताए ।

प्रकाशित : मंसिर ७, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्

एक सातामा बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ७ जनाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक साताको अवधिमा ७ जनाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार पछिल्लो एक सातामा मृत्यु हुनेमा ५ महिलासहित ७ जना छन् । 

कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा झापा बाहुनडाँगी ४ का ४५ वर्षीय पुरुष, सप्तरीको बोडे बर्साइन ३ का एक महिला छन् । आइतबार मृत्यु भएका बाहुनडाँगीका पुरुष मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ३ गते भर्ना भएका थिए । मंसिर ४ गते कोरोना पुष्टि भएपछि भर्ना गरिएका सप्तरीकी महिलाको सोहीदिन मृत्यु भएको थियो । उनी निमोनियाका बिरामी थिइन् ।

धरान १९ का २९ वर्षीया महिलालाई कात्तिक २६ गते कोरोना पुष्टि पछि ३० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागदै मंसिर ३ गते मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी कात्तिक २८ गते कोरोना देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचाररत अवस्थामा मोरङको मिक्लाजुङका ७५ वर्षीया वृद्धा महिलाको मृत्यु भएको थियो भने बराहक्षेत्र नगरपालिकाका ८ का ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाटै यसै साता मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको भर्ना गरिएकै दिन मृत्यु भएको थियो ।

श्वासप्रश्वास सम्बन्धी दीर्घरोगी तेह्रथुमकी २० वर्षीया महिलालाई कात्तिक ३० गते कोरोना संक्रमण भएपछि मंसिर १ गते कोभिड अस्पतालमा भर्ना भएकै दिन मृत्यु भएको थियो । झापाका ८० वर्षीय पुरुषलाई कात्तिक २८ गते कोरोना भएपछि २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको दुई दिनपछि मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर ७, २०७७ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×