देशभर ५ सय संक्रमित आईसीयूमा उपचाररत

कार्तिक २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर पाँच सय कोरोना संक्रमित सघन उपचारमा छन् । यसमध्ये ४ सय ४ जना आईसीयू र ९६ जना भेन्टिलेटरमा छन् । हालसम्म कोरोनाबाट १ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म ३८ हजार ३५ जना सक्रिय संक्रमित छन् । यसमध्ये ६३.५१ प्रतिशत अर्थात् २४ हजार १ सय ५७ जना वाग्मती प्रदेशमा छन् । त्यसमा पनि काठमाडौं उपत्यकामा ५३.२६ प्रतिशत र काठमाडौं जिल्लामा मात्र ४ हजार ३ सय ८७ सक्रिय संक्रमित छन् ।

सघन उपचारमा रहेका बिरामीमध्ये सबैभन्दा बढी ४८.४ प्रतिशत वाग्मती प्रदेशमै छन् । यहाँ १ सय ८४ जना आईसीयू र ५८ जना भेन्टिलेटरमा छन् ।

हालसम्म संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । सक्रिय संक्रमित नभएको एक मात्र जिल्ला मनाङ हो । मनाङमा देखिएका पाँच संक्रमित नै निको भइसकेका छन् । मंगलबार १२ हजार ९ सय ६० नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार मात्रै २२ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully