भौतिक दूरी कायम गर्दै दसैंको टीका लगाइँदै

'कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगतका वर्षहरु जस्तो उल्लास भने देखिँदैन '

कार्तिक १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — बडा दसैंको मुख्य दिन मंगलबार विजया दशमीको अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । टीकाको साइत बिहान १०: १९ बजे भएपनि आफू अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दूरी कायम गर्दै सर्वसाधारणले दसैंको टीका र जमरा लगाइरहेका छन् ।

सरकारले आग्रह अनुसार टीका लगाउने सर्वसधारणले मास्कको प्रयोग गरेको पाइएको छ । सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहोलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । 

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतिकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । बडादसैंको दिन उपत्यकाको सडक भने सुनसान देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगतका वर्षहरु जस्तो उल्लास भने देखिँदैन ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully