सम्भव छ कोरोनाको रि–इन्फेक्सन ?- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्भव छ कोरोनाको रि–इन्फेक्सन ?

अहिलेसम्मका केस रिपोर्टहरू हेर्दा दुई भिन्न जिन बोकेका कोरोना भाइरस जुन ठाउँमा घुमिरहेका हुन्छन् त्यहाँ एउटै व्यक्ति एकभन्दा बढी पटक संक्रमित हुन सक्ने देखिन्छ ।
डा. शेरबहादुर पुन

नेपालमा कोरोना निको हुनेको संख्या एक लाख नाघिसकेको छ । तीमध्ये कतिपयले सोध्ने साझा प्रश्न हो– ‘के म फेरि संक्रमित हुनेछु ?’ वास्तवमा यो प्रश्न संक्रमणमुक्त भइसकेकाको मात्र होइन, अरूको पनि चासोको विषय बनिरहेको छ ।


होम आइसोलेसनमा बसेकाहरूमा आफ्नो परिवारभित्रै संक्रमण पुष्टि हुने र आइसोलेसनमुक्त हुने समय फरक पर्दा कुन अवस्थादेखि सँगै बस्न सकिने र छुट्टिरहनुपर्ने भन्ने अन्योल देखिन्छ । अर्थात् आइसोलेसनबाट मुक्त हुने व्यक्ति आइसोलेसनमै बसिरहेको परिवारको अर्को सदस्यबाट पुनः संक्रमित भइने हो कि भन्ने त्रासमा हुन्छ ।

के कोरानाको पुनः संक्रमण सम्भव छ ?

यो प्रश्न अझै प्रश्नै बनेर वैज्ञानिकहरूसामु खडा भइरहेको छ । हुन्छ भने कति समयपछि ? यो प्रश्नलाई सर्वसाधारणको चासो मात्र होइन, खोपको प्रभावकारितासँग पनि जोडेर हेर्ने गरिन्छ । पुनः संक्रमण हुँदा अघिल्लो संक्रमणभन्दा रोगको लक्षण कडा देखिन्छ कि कम भन्ने जानकारी पनि उत्तिकै महत्त्वपूर्ण छ ।

पहिलोपटक हङकङमा ३३ वर्षीय पुरुषमा कोरोना पुनः संक्रमणको वैज्ञानिक पुष्टि भएसँगै विश्व नै तरंगित भएको थियो । पहिलो संक्रमणको झन्डै चार महिनापछि युरोप भ्रमणबाट फर्कंदा उनमा फेरि कोरोना पुष्टि भएको थियो । क्लिनिकल इन्फेकसिओउस डिजिज जर्नलका अनुसार ती व्यक्तिलाई पहिलो संक्रमणताका तीन दिन लक्षण देखिएको थियो । उनी झन्डै दुई साता अस्पताल बसेकामा दुईपटक कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका थिए ।

दोस्रोपटकको संक्रमणमा भने उनमा लक्षण थिएन । पीसीआरमा भाइरल लोड (सीटी भ्यालु) २६ देखिएको थियो । जिनको अध्ययनले उनमा संक्रमण भएको पहिलो र दोस्रो कोरोना भाइरस फरक पाइएको थियो ।

पहिलोपटक उत्तर अमेरिका (अमेरिका)मा देखिएको पुनः संक्रमणको केस भने हङकङमा देखिएको भन्दा क्लिनिकल्ली भिन्न थियो । यहाँ पहिलोभन्दा दोस्रो संक्रमण कडा थियो । ‘द ल्यान्सेट इन्फेकसिओउस डिजिज’ जर्नलमा प्रकाशित यो पुनः संत्रमणको केस झन्डै डेढ महिनाको फरकमा देखिएको थियो । यो केसमा कडा खालको खोकी, श्वासप्रश्वासमा अवरोध देखिनुका साथै निमोनिया भएको र उपचारका लागि अक्सिजनको सहायता लिनुपरेको थियो । पीसीआरमा भाइरल लोड (सीटी भ्यालु) ३५ थियो । पहिलोचोटिको संक्रमणमा पनि सीटी भ्यालु लगभग यस्तै थियो । यी संक्रमितमा पनि पहिलो र दोस्रोपटकको भाइरसको जिनमा फरक पाइएको थियो ।

त्यस्तै दक्षिण अमेरिका (इक्विेडर) मा पहिलोपटक ४६ वर्षीय पुरुषमा पहिलो संक्रमणको एक महिनापछि पुनः संक्रमण देखिएको थियो । यहाँ पनि दोस्रो संक्रमण कडा र भाइरसको जिन फरक थियो ।

युरोप (बेल्जियम) मा पहिलो संक्रमणको तीन महिनापछि दोस्रो संक्रमणको केस फेला परेको थियो । दोस्रोपटकको भाइरसको जिन फरक थियो । ती संक्रमित यो अन्तरालमा विदेश वा कुनै अर्को ठाउँ गएका थिएनन् । यसले त्यो एक ठाउँमै एकभन्दा बढी फरक जिनका भाइरस फैलिरहेको अनुमान गर्न सकिन्छ । युरोपका अन्य मुलुकमा पनि पुनः संक्रमणका घटना सार्वजनिक भएका छन् ।

छिमेकी देश भारतमै कोरोना पुनः संक्रमणका केस बढ्दै गएको सञ्चारमाध्यमले जनाउँदै आएका छन् । समग्रमा हेर्दा दोस्रो केसहरू पहिलोभन्दा सामान्य नै देखिए पनि भारतमा पुष्टि भएका पुनः संक्रमण अझ कडा पाइएका छन् । संक्रमितलाई लामो समय उपचार गर्नुपरेको छ । यद्यपि भारतमा पुनः संक्रमण भएकाहरूमा पहिलो र दोस्रोपटकको भाइरसको जिनमा भिन्नता थियो कि थिएन, सार्वजनिक भएको छैन । दोहोर्‍याएर संक्रमण भएकाहरूबारे राम्रो अध्ययन र विश्लेषण हुन सके मात्र दोस्रो संक्रमणको लक्षण कडा हुने र नहुने विषयको यथार्थनजिक पुग्न सकिनेछ ।

कारण यकिनसाथ भन्न नसकिए पनि पहिलो संक्रमण सामान्य भएकाहरूमा दोस्रो संक्रमणको सम्भावना पहिलो संक्रमण कडा भएकाहरूमा भन्दा बढी हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

माथिका केस रिपोर्टहरू हेर्दा दुई भिन्न जिन बोकेका कोरोना भाइरस जुन ठाउँमा घुमिरहेका हुन्छन् त्यहाँ एउटै व्यक्ति एकभन्दा बढी पटक संक्रमित हुन सक्ने देखिन्छ । नेपालमा कति प्रकारका जिन बोकेका कोरोना भाइरस छन् भन्ने अनुसन्धान भएको वा कुनै तथ्य सार्वजनिक भएको छैन । नेपालमा कोरोना भाइरस देखिएको ९ महिना भइसक्दा कोरोनाको जिनमा परिवर्तन आइरहेको हुन सक्छ । त्यस्तो रहेछ भने कोरोनाको पुनः संक्रमणको जोखिम नेपालमा पनि नकार्न सकिँदैन । तसर्थ अब संक्रमण मुक्त भइसकेकाहरूले पनि जनस्वास्थ्यका मापदण्डलाई पूरै बेवास्ता गर्नु हुँदैन । खोप उपलब्ध नभएसम्म वा महामारी निर्मूल नभएसम्म यी मापदण्ड निरन्तर पालना गरिरहनुपर्छ ।

हामीकहाँ पुनः संक्रमणको घटना पुष्टि भइनसकेको वा बहस हुनै बाँकी रहेको अवस्था भए पनि विभिन्न वैज्ञानिक लेख वा सञ्चारमध्यममा सार्वजनिक केसका आधारमा पुनः संक्रमण हुँदै हुँदैन वा पछि बढ्ने छैन भन्न सकिँदैन । संक्रमणबाट मुक्त भएको समय जति बढ्दै जान्छ, पुनः संक्रमणको जोखिम पनि बढ्दै जानेछ । अहिले उपलब्ध तथ्यांकले औसतमा झन्डै साढे दुई महिनामा पुनः संक्रमण हुने देखाएको छ । यसको अर्थ संक्रमणपछि हामीमा विकसित एन्टीबडी कोरोना भाइरसविरुद्ध लड्न महिनौंसम्म सक्रिय रहँदैन भन्ने हो ।

नेपालमा कोरोना पुनः संक्रमणको सम्भावना, अवस्था, कारण र लक्षण कस्तो छ र हुन्छ भनेर अनुसन्धान गर्न जरुरी देखिन्छ । यसबाट प्राप्त नतिजा कोरोनाविरुद्धको खोपको प्रभावकारिता बुझ्न र भावी रणनीति बनाउन महत्त्वपूर्ण हुनेछ ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : कार्तिक १०, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

दसैंमा किन लगाइन्छ रङरङका टीका ?

सुनिता साखकर्मी

काठमाडौँ — दसैं भन्नेबित्तिकै धेरैले मस्तिष्कमा रातो टीका र जमराको चित्र आउँछ सोच्छन् । तर नेपालमा समुदाय अनुसार दसैंमा लगाइने टीका फरकफरक हुने गर्छन् ।

दसैंलाई नेवार समुदायले ‘मोहनी’ भन्छन् । नेवारहरूले दसैंमा लगाउने कालो मोहनीकै आधारमा दसैंलाई मोहनी भनिएको हो । नेवारहरूले दसैंमा निधारको मध्यभागमा भुइँ सिन अर्थात् फुस्रो सिन्दुर लगाएर तल वा माथि कालो मोहनी लगाउँछन् । त्यही नै नेवारहरूको दसैंको टीका मानिन्छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार कालो टीकाले मानिसलाई आकर्षित गर्ने क्षमता राख्छ। कालो टीका लगाएको मानिसको अनुहारमा जादु हुने र यसले अरुलाई सम्मोहन गर्ने क्षमता राख्ने धौभडेल बताउँछन् । धौभडेलका अनुसार यो विजयादशमीको किंवदन्तीसित मेल खान्छ। उनी भन्छन्, ‘महिषासुर र दुर्गा देवीको युद्ध चलिरहँदा महिषासुर दुर्गाको मुहार देखेर सम्मोहित भई युद्ध गर्नै बिर्सिएपछि दुर्गाले विजय हासिल गरेको भन्नेसँग पनि मिल्न जान्छ।’

धौभडेलका अनुसार नेवार समुदायमा नवमीको दिनमा आगम घरमा पूजा गर्दा बोका, हाँस, लगायत पशुहरूको बलि दिँदा उनीहरूको रगतको टीका पनि लगाउने मौलिक चलन छ। नवमीकै दिन घरको आगमघरमा पूजा गर्दा बलि दिने क्रममा माटोको पालामा तेल राखेर दियो बालिन्छ । यसरी बालेको दियोको केही माथि अर्काे पालाले छोपिन्छ। दिनभरी नै यसरी छोप्दा माथिबाट छोपिएको पालामा कालो ध्वाँसो जम्मा हुन्छ। बैद्धिक एवं तान्त्रिक विधिबाट निकालेर यसलाई नेवारहरूले दशमीको दिनमा यही मोहनीलाई टीकाका रूपमा लगाउने गर्छन् ।

‘कहिलेकाहीं यो माथि छोपिएको पालामा ध्वाँसो जम्मा नहुन पनि सक्छ,’ उनले भने, ‘यसरी ध्वासो जम्मा भएन भने घरको पूजा गर्ने मानिसको दिन खराब रहेको मानिन्छ। त्यस्तै दिन राम्रो चलिरहेको छ भने ध्वाँसोमा बञ्चरो लगायत विभिन्न आकृतिहरू बन्छ ।’

मोहनी निधारको तल र माथि लगाउने चलनले नेवार समुदायभित्रको जातिगत भेदलाई संकेत गर्छ । श्रेष्ठ समुदायले निधारको तल्लो भागमा र किसान समुदायले माथिल्लो भागमा लगाउने गर्छन् । तर टीका लगाउने चलन कहिलेदेखि सुरु भयो भन्ने नभएको धौभडेल बताउँछन् । टीका लगाउनुले भने मानिसको त्रिनेत्रको संकेत गर्ने धौभडेलले दाबी गरे । उनले भने, ‘मानिसको दुई नेत्र हुन्छ र अर्काे निधारको मध्य भागमा पनि नेत्र हुन्छ भन्ने मान्यता छ । मध्य भागमा टीका लगाएपछि ध्यान केन्द्रित हुन्छ र शक्ति आर्जन हुन्छ ।’ पहिलेदेखिको टीका लगाउने चलन नफेरिएको भए पनि अहिले बजारमा रसायन मिलाएको अबिर लगाउँदा एलर्जी हुने खतरा भने बढेको धौभडेल बताउँछन् ।

नेपालका तामाङ, राई, मगर, गुरुङ, लिम्बु समुदायले दसैंमा दहीमा सेतो चामल मुछेर लगाउने गर्छन् । माघेसंक्रान्तिमा तरुल पोलेको अंगार र काँचो तरुलको टीका लगाउने गरिन्छ भने अन्य बेलामा दही र चामल नै लगाउने चलन रहेको संस्कृतिविद् तीर्थराज मुकारुङले बताए । खेतीकिसानी शूर भएदेखि नै यो चलन चलेको हुनसक्ने उनले अनुमान लगाए । राई समुदायले भदौरे पूर्णिमामा पाकेको धान भित्र्याएपछि नयाँ धानको चामल कुट्ने, चिउरा कुट्ने, नयाँ कोदोको रक्सी बनाउने गरिन्छ ।

‘त्यतिबेला पशुपालन चलेको थियो होला, अनि चामल मात्रै नअडिएपछि दहीमा मुछेर लगाउने चलन सुरु भएको हुनसक्छ,’ उनले भने, ‘त्यो बेलामा प्राकृतिक रंगहरू पनि पत्ता लागेको थिएन होला । त्यसैले सादा नै लगाउने चलन चलेको हुन सक्छ ।’ विवाहका साथसाथै मृत्यु हुदा पनि दु:ख बारीसकेपछि सेतो चामलको टीका लगाउने चलन रहेको उनी बताउँछन् ।

संस्कृतिविद् डा. वीणा पौडेलका अनुसार दसैंमा धानको सग्लो सिता अर्थात् अक्षतालाई निधारमा लगाउने चलन छ । यसले मानिसको जीवन चामलको अक्षता जस्तै पूर्ण होस् भन्ने कामना सहित टीका लगाइदिने चलन रहेको छ । दसैंमा टुक्रिएको आधा चामल प्रयोग गरिदैन । टीकाको रंग समयअनुसार फरक फरक लगाइन्छ । सेतो शान्तिको लागि, पहेलो पितृ कार्यहरूमा र रातो र कालोलाई शक्तिको प्रतीकका रूपमा लिइन्छ ।

तान्त्रिक रुपमा होम वा पूजाहरू गर्दा पनि कालो र रातोको प्रयोग गरिन्छ । पहिले यि रातो, कालो, पहेलो सबै प्राकृतिक वनस्पतीहरूबाट बनाउने गरेपनि अहिले भने केमिकलवाला रंगहरूको प्रयोग बढेको उनी बताउँछिन् । सिन्दुर फल्ने बोट नै हुन्थ्यो, पत्थरहरू घोटेर, वनस्पतिको फुल, पात वा जराको प्रयोग गरेर रंगहरू बनाउने गरेकोमा अहिले केमीकल टीकाहरू आएको उनी बताउँछिन् ।

साहित्यकार धीरेन्द्र प्रेमर्षिका अनुसार तराईमा टीका लगाउने खासै प्रचलन छैन । तर जयन्ती भनेर जमरा भने राखिन्छ । दशमीको दिनमा ठूलाबडाको हातबाट जयन्ती लगाइदिने चलन छ । ‘बरु मिथिलामा घटस्थापनादेखि नौ दिनसम्म शक्तिको पूजाको रुपमा दुर्गा, भगवतीको धुमधामसित मुर्तीहरू बनाई पूजा गरिन्छ,’ उनले भने, ‘प्रत्येक दिन शक्तिपीठहरूमा गएर वा घरमै नुवाईधुवाई गर्ने गरिन्छ । मिथिला नारीहरूले खोइचँ भर्ने भन्दै साडीको सप्कोमा आशीर्वादका चिजहरू पोको पार्ने चलन पनि छ ।’ पश्चिम तराईमा रामले रावणको वध गरेर पुरुषकै वर्चस्व जस्तो देखिन्छ भने मिथिला क्षेत्रमा नारीशक्ति अर्थात् मातृ शक्तिको पुजन गरिन्छ ।

राष्ट्रिय संस्कृतिको प्रभावले अहिले कहिँकतै टीका लगाउने जाने चलन सुरु भएको उनले बताए । उनले बाल्यकालको सम्झना गर्दै भने, ‘पहाडबाट तराईमा बसाइँ सरेका निकट वा आफन्तहरूसित भने टीका लाउन जान्थ्यौँ । यो सामाजिक सौहार्द अहिले घटेको छ । सिको मात्रै गर्न थालेको भान हुन्छ ।’

(२०७५ असोज ३१ गते प्रकाशित यो समाचार पुन: प्रकाशित गरिएको हो ।)

प्रकाशित : कार्तिक १०, २०७७ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×