कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितको उपचार नगर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गर : देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको उपचार नगर्ने अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । उनले कोरोना संक्रमितको उपचार निशर्त, भेदभावरहित र निः शुल्क हुुनुपर्ने बताएका छन् ।

संक्रमितको उपचार नगर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गर : देउवा

देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड- १९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भन्दै तत्काल खारेज गरी स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभावबिना, निः शुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

'म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड- १९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभाव बिना, निः शुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु,' विज्ञप्तिमा छ ।

देउवाले यस विषम परिस्थितिमा जनताको जीवन नै कष्टकर भएको यथार्थतर्फ संवेदनशील भई जनहितमा काम गर्न पनि सरकारलाई आग्रह गरेका छन् । अहिलेको अवस्थामा सरकार जनताको अभिभावकका रुपमा उभिनु पर्नेमा झन् पीडा थप्ने काम गरेको भन्दै देउवाले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गर्नु निन्दनीय र लज्जास्पद भएको टिप्पणी देउवाको छ ।

'प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेका छन् । देशमा सर्वत्र त्रास छ । यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पीडा थप्ने काम गरेको छ,' विज्ञप्तिमा लेखिएको छ, 'नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।'

आधारभूत स्वास्थ्य सेवा निः शुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक भन्दै देउवाले सरकारले कुनै शर्तबिना यसको कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् । सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानुनी व्यवस्थाविपरीत निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अवहेलना गरेको उनको ठहर छ ।


प्रकाशित : कार्तिक ६, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?