कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाको उपचार आफ्नै खर्चमा गर्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ ।

कोरोनाको उपचार आफ्नै खर्चमा गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका हुन् । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए ।

तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि उनले बताए । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गतेदेखि नै लागू भएको पनि प्रवक्ता गौतमले बताए ।

उनले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ ।

सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आईसीयू लगायतका पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको छ ।

यस्तै पछिल्लो ३ दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएकाहरु ७ दिन होम आइसोलेसनमा बस्ने सुनिश्चितता गर्नु पर्ने व्यवस्था गर्ने निर्णय भएको समेत प्रवक्ता गौतमले बताए ।

यस्तै कोभिड १९ परीक्षण गर्ने सबै प्रयोगशालाहरुले दसैंको नवमी, दशमी र एकादशीका दिनबाहेक पूर्णरुपमा सञ्‍चालन गर्ने/गराउने सरकारले निर्देशन दिएको छ । तर यी तीन दिनहरुमा सबै प्रयोगशालाहरुले परीक्षण चापअनुसार गर्न/गराउनुपर्ने पनि सरकारले भनेको छ ।




प्रकाशित : कार्तिक २, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?