सक्रिय संक्रमित २५ हजार नाघे

दिनहुँ पुष्टि हुने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाका

आश्विन २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार एकै दिन हालसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोभिड देखिएको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सक्रिय संक्रमित २५ हजार ७ पुगेका छन् ।

गत असोज ७ गते बसेको मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले सक्रिय संक्रमित २५ हजार नाघे स्थिति अत्यन्त जोखिमपूर्ण हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गरेको थियो । 

मुलुकमा देखिएको संक्रमण दर यस्तै रहे दुई/तीन दिनमै संक्रमित संख्या एक लाख पुग्ने विज्ञहरूले अनुमान गरेका छन् । हाल काठमाडौं उपत्यकामा संक्रमण संख्या र दर तीव्र देखिएको छ । बुधबारसम्म संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेकामा ३३ हजार ७ सय ५१ जना अर्थात् ३५.८० प्रतिशत काठमाडौं उपत्यकाका हुन् । देशभरको तुलनामा करिब २९ प्रतिशत अर्थात् २७ हजार ३ सय २ संक्रमित काठमाडौं जिल्लाका मात्रै छन् । 

पछिल्लो केही सातायता मुलुकमा दिनहुँ देखिने संक्रमितको आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । तीमध्ये ५ देखि ७ प्रतिशतको मात्र ‘ट्राभल हिस्ट्री’ छ । पीसीआर परीक्षण गरिएकामध्ये संक्रमणको दर ८.४६ प्रतिशत छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले अब उच्च रूपमा स्वास्थ्य सतर्कता अपनाउन सुझाएका छन् । उनका अनुसार उपत्यकामा समुदायमा संक्रमण गइसकेको प्राथमिक अवस्था छ । संक्रमण समुदायमा कस्तो अवस्थामा छ भन्ने कुरा प्रिभिलेन्स सर्भेको नतिजाले स्पष्ट पार्ने उनले बताए । हालसम्म यो सर्भे सुरु भएको छैन ।

‘काठमाडौंमा जहाँ परीक्षण गर्‍यो त्यहीं कोभिड देखिन्छ,’ डा.पाण्डेले भने, ‘तर संक्रमणको स्रोत थाहा पाउन गाह्रो छ ।’ उनका अनुसार राजधानीका केही निजी प्रयोगशालाले आफूकहाँ संकलन गरिएका स्वाबमध्ये ५० प्रतिशतसम्ममा कोभिड देखिएको बताएका छन् । 

अब सबैले आफू संक्रमित भएको हुन सक्ने शंका गरेर काम जारी राख्नुपर्ने अवस्था आएको ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । ‘कम्तीमा दुई मिटरभन्दा टाढा रहेर कुरा गर्ने, मास्क लगाइराख्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर लगाउन छाड्नुभएन,’ उनले भने, ‘उपत्यकालगायत जनघनत्व बढी भएको ठाउँमा बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएका व्यक्तिमा जोखिम भएकाले सम्भव भएसम्म घरमै क्वारेन्टाइनमा बस्दा संक्रमणबाट जोगिन सकिन्छ ।’

देशभरका प्रयोगशालामा प्रमाणित कोभिड देखिएकामध्ये बुधबार दिउँसोसम्म ५ सय ७८ जनाको मृत्यु भएको छ । कुल संक्रमितका आधारमा ०.६१ प्रतिशत मृत्यृदर हुन आउँछ । यसअघि मृत्युदर ०.६५ प्रतिशत थियो । 

यसैबीच सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं उपत्यकामा संक्रमण व्यापक बढिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्रिपरिषद्ले असोज १९ मा गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सबैलाई सचेत रहन आग्रह गरेका हुन् । ‘अरू जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रणउन्मुख भए पनि काठमाडौं उपत्यका जोखिममा छ । पछिल्लो समय मुलुकभरका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका छन्,’ उनले भने ।

विभिन्न सेवा प्रवाह गर्दा, लिँदा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । प्रदर्शन वा अन्य गतिविधि गर्दा पनि उनले उच्च सतर्कता अपनाउन आग्रह गरे । ज्येष्ठ नागरिक कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले चाडबाडमा विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।

चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना रहेको उनले बताए । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै उनले यसपालि टाढैबाट आशीर्वाद लिँदा उपयुक्त हुने बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully