काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६८४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा जम्मा १४ हजार २०९ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४८६ परीक्षणहरु गरिएका छन् ।
मंगलबार २४ घण्टाको अद्यावधिक विवरण अनुसार उपत्यकामा १ हजार १७ जनामा कोरोना देखिएको थियो ।
२४ घण्टामा देशभर भने ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार १२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
त्यसैगरी हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार १६४ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या भने २५ हजार ७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
