नेपालगन्ज — बाँकेको नेपालगन्जमा बुधबार कोरोना संक्रमित ३५ वर्षीया महिलाको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका-१५ की महिलाको भेरी अस्पताल नेपालगन्जमा बुधबार दिउँसो ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
दाङ निवासी ती महिलालाई असोज १८ गते मेडिकल कलेज कोहलपुरमा स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।
रिपोर्ट पोजिटिभ देखिएपछि सोही दिन राति ११:४५ बजे राति भेरी अस्पताल उपचारका लागि ल्याइएको थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका व्यक्तिको मृत्युको संख्या १० पुगेको छ ।
