१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

संक्रमणमुक्तपछि पनि सामाजिक विभेद

समाज र परिवारको स्नेहको कमी, आइसोलेसनमा बस्नुपर्दाको दिग्दारी र भविष्यको चिन्ता जस्ता समस्याले सताउने गरेको देखिन्छ ।
जनकराज सापकोटा

काठमाडौँ — कोरोना संक्रमणमुक्त भएका व्यक्तिले समेत समाजमा धेरै प्रकारका भेदभाव व्यहोर्नुपरेको छ । आफन्त र समाजले गर्ने दुर्व्यवहारका कारण संक्रमणमुक्त भएपछि पनि धेरै मानिस मानसिक समस्यामा धकेलिएको संकेत एक अध्ययनले देखाएको छ ।

संक्रमणमुक्तपछि पनि सामाजिक विभेद

स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सातैवटा प्रदेशका कोरोना संक्रमणमुक्त ५ सय ५२ जनामा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययनमा समेटिएकामध्ये ४८.३ प्रतिशतले सामाजिक रूपमा विभिन्न खालको भेदभाव महसुस गरेको बताएका थिए । उनीहरूले कोभिड–१९ बाट सिर्जित डरका कारण आफूले आफन्तबाट कुनै पनि स्नेह र प्रेमको अनुभव नपाएको अनुभव साटेका थिए । समाज र परिवारको स्नेहको कमी, आइसोलेसनमा बस्नुपर्दाको दिग्दारी र भविष्यको चिन्ता जस्ता समस्याले संक्रमितलाई सताउने गरेको देखिन्छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अध्ययनका क्रममा परिवारकै सदस्यबाट पनि संक्रमितले भेदभाव भोगेको घटना आफूहरूले पाएको बताए ।

‘कोरोना लागे मरिन्छ भन्ने डरले पनि मानिसले परिवारकै सदस्यप्रति स्नेह दर्शाउन नसकेको देखिन्छ । जसले संक्रमितलाई मानसिक चिन्तामा धकेलेको छ,’ उनले भने । अध्ययनमा सहभागीमध्ये १५.१ प्रतिशतले आफूले बारम्बार दिक्क लाग्ने र अनावश्यक विचार दिमागमा आउने समस्या झेलिरहेको बताएका थिए भने ७.७ प्रतिशतले आफूप्रति र अरूप्रति पनि नकारात्मक विचार पैदा भइरहेको बताएका थिए । संक्रमणमुक्त भएका ८० प्रतिशत घरायसी, घरबाहिरको र आर्थिक आयआर्जनको काममा पुनः फर्किए पनि ९.६ प्रतिशत घरायसी र ९ प्रतिशतले घर बाहिरको काम र ११.१ प्रतिशतले आर्थिक आयआर्जनको काम गर्न अरूको सहायता लिइएको पाइएको छ ।

संक्रमणका कारण आइसोलेसनमा बसेका धेरैले आफू आर्थिक रूपमा कमजोर भएको चिन्ता पनि व्यक्त गरेका छन् । अध्ययनमा सहभागीमध्ये २१.४ प्रतिशतले कामको, १९.२ ले घरको र २९.६ प्रतिशतले बेरोजगारीका कारण आर्थिक चिन्ता भएको बताएका थिए । अध्ययनले कोरोना संक्रमणपछि उत्पन्न बेरोजगारी र त्यसबाट सिर्जित मानसिक तनावलाई पनि संकेत गरेको छ ।

अध्ययनले कोरोना संक्रमणमुक्त भएपछि पनि मानिस छिट्टै पुरानै काममा फर्किन नसक्ने अवस्था देखिएको जनाएको छ । अध्ययनमा सहभागीमध्ये मुक्त भएका ३५ प्रतिशतभन्दा बढीले निको भएको २ देखि ३ सातासम्म खोकी, थकान र सास फेर्न गाह्रो हुने लक्षण कायमै रहेको बताएका छन् । सर्वेक्षणमा सहभागी ५ सय ५२ मध्ये ७० जना पहिलादेखि नै मधुमेह, मुटुरोग र दम जस्ता रोगबाट ग्रसित भएको देखिए पनि यस्तो समस्या बाहेककामा पनि संक्रमणमुक्त पछि स्वास्थ्य समस्या कायमै देखिएको छ ।

अध्ययनमा सहभागीमध्ये ८९.१ प्रतिशत व्यक्ति संक्रमणका बेला सामान्य अवस्थामा रहेको पाइयो भने १०.९ प्रतिशतले रुघाखोकी, चिसो महसुस हुने, सामान्य काम गर्दा पनि कमजोर महसुस हुने, गन्ध र स्वाद पनि गुमाउने अनुभव गरे । देशभित्र र देशबाहिर यात्रा गर्नेहरूमा कोरोना संक्रमण सबैभन्दा उच्च रहेको अध्ययनले देखाएको छ । अध्ययनमा समेटिएकामध्ये ९९ प्रतिशतमा यात्राको पृष्ठभूमि रहेको देखिन्छ । जसमा ६९.१ प्रतिशतले देशभित्रै र २९.९ ले अन्तर्राष्ट्रिय यात्रा गरेको देखिन्छ ।

कोरोना संक्रमण भएकामध्ये केहीले भने आइसोलेसनमा बसेर संक्रमणमुक्त भएपछि धूमपान र मद्यपानको पुरानो बानी त्यागेको देखिन्छ । संक्रमणमुक्त भएका १० प्रतिशतले धूमपान र १२ प्रतिशतले मद्यपान छाडेको पाइएको हो । परिषद्का सदस्य सचिव डा. ज्ञवालीले यो अध्ययनले कोरोनाजस्तो गम्भीर रोग लागेर पनि अधिकांश व्यक्ति संक्रमणमुक्त भएपछि पुरानै अम्मलमा फर्किनु अनौठो रहेको बताए । उनले भने, ‘धेरैमा बरु रोग लागेर मरे मरिन्छ, सुर्ती चुरोट र मद्यपान छाड्दिन भन्ने देखियो । यो गम्भीर कुरा हो ।’

प्रकाशित : आश्विन १२, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?