तिनाउ नदीले खतरा तह पार गर्यो, नारायणीको जलसतह खतरा तह आसपास
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले प्रदेश नम्बर १, प्रदेश नम्बर २, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा भइरहेको जनाएको छ ।
सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली एक-दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।
लगातारको वर्षापछि मुलुकका अधिकांश नदीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बुटवलमा तिनाउ नदीले खतरा तह पार गरेको छ । त्यसैले नदी तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने भन्दै महाशाखाले बिहीबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी बिहीबार बिहानै सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेकाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा दिनभरि नै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसम
असोज ८ गते (बिहीबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
असोज ९ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
असोज १० गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
