आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकियो- समाचार - कान्तिपुर समाचार

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकियो

वैशाखसम्म अहिलेकै समितिलाई निरन्तरता
कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने र अहिलेको समितिलाई वैशाखसम्म निरन्तरता दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

'असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने र अहिलेको कार्यसमितिलाई २०७८ वैशाखसम्म निरन्तरता दिने निर्णय भएको छ ,' भट्टराईले भने ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई पत्र लेखेका थिए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर उक्त निर्वाचन स्थगित गरिदिन आग्रह गरेका थिए ।

प्रकाशित : आश्विन ६, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्

१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी : स्वास्थ्य अनुसन्धान परिषद्

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक सर्वेक्षणले १६ वर्षका उमेर समूहका (७.७) प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको देखाएको छ । सोमबार परिषदले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दैे किशोरीमा ५.३ प्रतिशत र किशोरमा ५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको जनाएको छ ।

प्रदेशतगत विवरण हेर्दा सबैभन्दा बढी प्रदेश १ का किशोरकिशोरीमा मानसिक समस्या (११.४ )प्रतिशत रहेको सर्वेक्षणमा भनिएको छ ।

सर्वेक्षणले ५.२ प्रतिशत किशोरकिशोरी मानसिक समस्या रहेको, ०.६ प्रतिशतमा किशोर किशोरीमा उदासिनता, ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको उल्लेख गरेको छ।

सर्वेक्षणमा आएको परिणाम अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ ।

त्यसैगरी ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । प्रदेशगत विवरण हेर्दा वाग्मती प्रदेशको वयस्कमा सबैभन्दा धेरै अर्थात ५.९ प्रतिशतमा हालमा मानिसमा समस्या रहेको देखिएको छ ।

वयस्क उमेर समूहभित्रका महिला र पुरुषको तुलना गरेर हेर्दा ५.९ प्रतिशत महिलामा र ३.४ प्रतिशत पुरुषमा मानसिक समस्या रहेको पाइएको छ ।

परिषदले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा जम्मा १५ हजार ८८ जनामा सर्वेक्षण गरिएको थियो । जसमध्ये ९२०० जना १८ वर्ष माथिका वयस्क थिए भने ५ हजार ८८८ जना १३ देखि १७ वर्ष सम्मका किशोरकिशोरी थिए ।

सर्वेक्षण अनुसार २३ प्रतिशत वयस्कले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । कसैले जोखाना हेर्न, पूजाआजा र धामीझाँक्री लगाउने गरेको पनि पाइएको छ । धेरैले मानिसले आफूलाई 'पागल' भन्ने डरले, आफ्नो समस्या कहाँ गएर समाधान गर्ने भन्ने जानकारी नहुने, यस्तो समस्या आफै निको हुन्छ होला भन्ने सोचाइले चिकित्सको परामर्शका लागि नजाने भनी सर्वेक्षणले निष्कर्ष निकालेको छ ।

प्रकाशित : आश्विन ६, २०७७ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×