भक्तपुर — मध्यपुर थिमि नगरपालिकाका दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मध्यपुर थिमि–५ भुंलाखेलका ७७ वर्षीय पुरुष र वडा नम्बर ७ नगदेशका ८१ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
भुंलाखेलका ७७ वर्षीय पुरुषको मुटुको अपरेशन गर्नुअघि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको र अपरेशनपछि गंगालाल अस्पतालमा मृत्यु भएको उनले बताए । ती पुरुषमा ४ दिन अघि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, मध्यपुर थिमि–७ नगदेशका ८१ वर्षीय पुरुषमा एकसाता अघि कोरोना संक्रमण पुष्टि भइ ‘होम आइसोलेसन’ बसेको र स्वास्थ्यमा समस्या देखिएपछि मेघा अस्पताल लगिएको नगरप्रमुख श्रेष्ठले बताए ।
उक्त, अस्पतालमा भ्यान्टिलेटर नभएपछि ग्रान्डि अस्पतालमा रेफर गरिएको र अस्पातल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको जनाएको छ । मृतक दुवैको शव नेपाली सेना शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । तीमध्ये, मध्यपुर थिमि नगरका १० जना छन् ।
