३७ हजार ५ सय २४ कोरोना संक्रमित निको भए

भाद्र २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा हालसम्म ३७ हजार ५ सय २४ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७०.६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ सय ५२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३७ हजार नाघेको हो ।

शुक्रबार कोरोनाबाट मुलुकभर ९ सय ७२ जना निको भएका थिए । 

मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा  १२ सय २ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको मिडिया ब्रिफिङमा बताएका छन् । २४ घण्टामा १० हजार १ सय ७६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय ५४ पुगेको छ ।

हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ८ लाख ३१ हजार ३ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully