१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ढोरपाटन बाढीपहिरोमा मृतककाे संख्या १७ पुग्याे

प्रकाश बराल

बागलुङ — गत बुधबार राति ढोरपाटन नगरपालिका–९ स्थित भुजी खोलामा आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बाढीपहिरोले बगाएका एक पुरुषको सोमबार शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

ढोरपाटन बाढीपहिरोमा मृतककाे संख्या १७ पुग्याे

घटनास्थलदेखि झण्डै ३० किमी तल बडिगाड खोलामा शव भेटिएको हो । भेटिएको शव अन्दाजी ३५ वर्षीय पुरुष भएको प्रहरीको अनुमान छ । उनको सनाखतका लागि स्थानीयलाई बोलाइएको छ ।

पहिरोमा फेला परेका शवमध्ये १५ जनाको सनाखत भएको छ । घटनामा अझै २१ जना बेपत्ता छन् । घाइते भएका दुई जनामध्ये एक जनालाई पोखरा र अर्कालाई पाल्पा पठाएकोमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । घटनास्थलदेखि गुल्मीको रिडी र स्याङजास्थित कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनासम्म प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली खटाएर बेपत्ताको खोजी भइरहेको छ ।

उक्त घटनामा ८० घर पूर्ण रुपमा र ५१ घर आंशिक क्षति भएका छन् । यहाँको एक मोटरेबल पुल र ३ वटा झोलुङेपुल बगाएको छ । सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राविको भवन बगाएको तथा हेल्थपोस्ट राखिएको स्थानीयको घर भत्केको छ । । यहाँका ३ वटा लघुजलविद्युत ध्वस्त भएकोले वडा नम्बर ७, ८ र ९ का अधिकांश स्थानमा विद्युत सेवा र टेलिफोन समेत अवरुद्ध भएको वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।

प्रकाशित : भाद्र २२, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?