नुवाकोट — गाउँमाथिको ठूलो ढुंगा खस्ने डरले दुप्चेश्वर गाउँपालिका-१ नेगीका स्थानीय सुरक्षित स्थानमा बसाइँ सर्न थालेका छन् । ‘गाउँमा बस्न सकिएन,’ स्थानीय लालबहादुर तामाङले भने, ‘ढुंगा खस्ने डर छ, ज्यान बचाउन सर्न थालेका छौं ।’
गाउँका ३२ घर सुरक्षित स्थान खोज्दै सरेका छन् । मंगलबारबाट नेगीका परिवारलाई हाइड्रोपावर नजिकको सल्लेरीडाँडा, शिखरबेंसीको मिश्रभन्ज्याङ र घ्याङफेदीलगायत स्थानमा स्थानान्तरण गरिएको छ । ‘ढुंगा खसेर बस्तीमा आउन लाग्यो,’ अर्का स्थानीय शेरबहादुर तामाङले भने, ‘ठूलो ढुंगा छ । त्यो बस्तीमा खस्यो भने मान्छे र बस्तुभाउ सखाप पार्ला भनेर सर्न थाल्यौं ।’
नेगी गाउँभन्दा १ सय ५० मिटरमाथि तीन घर अट्ने अग्लो र ठूलो ढुंगा छ । त्यसलाई उनीहरू पाल्साङ ओडार ढुंगा भन्छन् । उक्त ढुंगा वर्षोंदेखि नेगी गाउँ माथि छ । भूकम्पले डाँडापाखाका ढुंगा हल्लाएको थियो । यो वर्षको वर्षाले भित्तामा टाँसिएको ढुंगा २/३ मिटर सरिसकेको छ । माटो खसेपछि ढुंगा धसिएको छ ।
दुप्चेश्वर—१ काउलेमा पनि बस्ती जोखिममा छ । त्यहाँ पनि गाउँभन्दा माथि ठूला ढुंगा छन् । बस्ती जोगाउन उक्त ढुंगा झर्न नदिन जाली हालेर सुरक्षित गराइएको स्थानीय कर्णबहादुर तामाङले बताए । ‘ढुंगा खस्ला भन्ने डर छ,’ उनले भने, ‘त्यही पनि बसेका छौं ।(’ ढुंगामुनिको जोखिमयुक्त बस्तीका बासिन्दालाई सार्न थालेको गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङले बताए । बस्ती जोखिममा पर्ने जानकारी आएपछि जिल्ला विपद् व्यवस्थापन समितिले भदौ पहिलो साता अनुगमन गरेको थियो । अनुगमनपछि समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सुरक्षित स्थानमा स्थानान्तरण गर्न टेन्ट र पाल पठाएका थिए ।
