१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चितवन मेडिकल कलेजमा हेटौंडाकी ५२ वर्षीया काेराेना संक्रमितको निधन

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण अस्पतालमा शुक्रबार दिउँसो हेटौंडाकी एकजना कोरोना संक्रमण पुष्टि भएकी महिलाको निधन भएको छ । मकवानपुर हेटौंडा–११ की ५२ वर्षीया महिलाको दिउँसो पौने दुई बजे मृत्यु भएको हो । छातीमा समस्या भएकी उनी उपचारका लागि सिकिस्त अवस्थामा भदौ ११ गते भर्ना भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

चितवन मेडिकल कलेजमा हेटौंडाकी ५२ वर्षीया काेराेना संक्रमितको निधन

सोही दिन भएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

चितवनमा योसहित कोरोना संक्रमण देखिएका २१ जनाको निधन भएको छ । निधन भएकामध्ये ११ जना चितवनका छन् । मृतकमध्ये चितवन खैरहनी नगरपालिका–३ की १०९ वर्ष की एकजना महिलाको मात्रै घरमै ज्यान गएको थियो ।

अन्यको उपचारका क्रममा भरतपुरका विभिन्न अस्पतालमा ज्यान गएको हो । नौजनाको भरतपुरको सरकारी अस्पतालमा निधन भएको छ । तीमध्ये पाँचजना अन्य अस्पतालबाट निकै जटिल अवस्थमा अन्तिम समयमा भरतपुर अस्पताल आएको अस्पतालले जनाएको छ । सिएमसीमा योसहित ८ जनाको ज्यान गएको छ ।

भरतपुरमा रहेको पुरानो मेडिकल कलेज (सिओएमएस)मा दुईजना र भरतपुरकै एउटा निजी अस्पताल पुष्पाञ्जली अस्पतालमा एकजना संक्रमितको ज्यान गएको छ । संक्रमित प्रमाणित भएर उपचार गर्दा गर्दै निधन हुने १६ जना छन् । पाँचजना व्यक्तिको भने निधन भएपछि मात्रै कोरोना संक्रमण भएको परीक्षण नतिजा आएको थियो ।

भरतपुरमा निधन हुनेमा बाहिरी जिल्ला मकवानपुर हेटौंडाका मात्रै पाँचजना छन् । नवलपुरका दुईजना र कैलालीको गोदावरी, बाराको निजगढ, गोरखाको एकएकजना संक्रमितको चितवनमा निधन भएको छ । चितवनमा भरतपुर महानगरपालिकाका सवैभन्दा धेरै सातजना संक्रमितको निधन भएको छ । तीमध्ये ५ जना महानगरपालिकाको वडा नम्बर ११ का बासिन्दा छन् । मृतकमध्ये १२ जना पुरुषहरु छन् ।

चितवन जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार चितवनमा शुक्रबार दिउँसोसम्म कुल संक्रमित संख्या ९३३ पुगेको छ । संक्रमितमध्ये १५७ जना निको भएको उनले बताइन् । चितवनमा साउन २१ यता संक्रमण तीव्र भएको हो । त्यो बेलासम्म जिल्लामा जम्मा ११६ जना संक्रमित थिए । साउन मसान्तसम्म मृत्यु जिल्लाका एक र बाहिरका एक गरेर दुईजना मात्रै थिए ।

प्रकाशित : भाद्र १९, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?