संक्रमितका लागि निःशुल्क अक्सिजन बैंक

भाद्र १७, २०७७

सीमा तामाङ

काठमाडौँ — सिनामंगल बस्ने कृष्णबहादुर थापाकी ६६ वर्षीया श्रीमतीलाई साउन १६ गते नर्भिक अस्पतालमा कोरोना पुष्टि भयो । थापाले त्यसको भोलिपल्ट श्रीमतीलाई उपचारका लागि पाटन अस्पताल लगे । उनकी श्रीमती मुटु, दम र निमोनियाका बिरामी हुन् । २५ दिनमा कोरोनामुक्त भएपछि उनलाई घरमा ल्याइयो ।

कोरोनामुक्त भए पनि विभिन्न रोगका कारण उनलाई श्वासप्रश्वासमा समस्या हुन थाल्यो । टेलिभिजनमा लाइन्स क्लब अफ काठमान्डु समर्पणले सुरु गरेको अक्सिजन बैंकका बारेमा थाहा पाएपछि थापाले सम्पर्क गरे । श्रीमतीको अवस्थाबारे बताएपछि बैंकका कर्मचारीले पनि अक्सिजन सिलिन्डर लिने प्रक्रियाबारे बताए । थापाले आफू बस्ने वडाबाट सिफारिस लिएर फर्म भरेपछि अक्सिजन बैंककै कर्मचारीले सिलिन्डर घरमा ल्याई प्रयोग गर्ने विधि पनि सिकाए । अहिले थापाकी श्रीमती श्वास फेर्न गाह्रो हुनासाथ उक्त अक्सिजन प्रयोग गर्छिन् ।

कोभिड–१९ संक्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले क्लबले साउन ३१ गतेदेखि सानेपामा ‘अक्सिजन बैंक’ सुरु गरेको छ । क्लबको फन्डबाट करिब ३० लाख रुपैयाँ खर्चेर सानाठूला गरी २ सय वटा अक्सिजन सिलिन्डर खरिद गरी अक्सिजन बैंकको सुरुवात गरेको हो । होम आइसोलेसनमा बस्ने विपन्न वर्गका बिरामीहरूलाई लक्षित गरी बैंक स्थापना गरेको क्लबका अध्यक्ष दीपक बंशलले बताए । गम्भीर बिरामी परेका संक्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्न सके अस्पतालमा बिरामीको भीडभाड कम हुने उनी बताउँछन् ।

अक्सिजन बैंकको सेवा विशेषगरी असहाय तथा आर्थिक अवस्था कमजोर भएका कोभिड संक्रमितहरूका लागि भए पनि अत्यावश्यक भएमा अन्य व्यक्तिहरूलाई पनि उपलब्ध गराउने उनको भनाइ छ । अक्सिजन उपलब्ध गराउनुअघि आफूहरूले ती व्यक्तिहरूको सम्पूर्ण विवरण लिने गरेको ‘अक्सिजन बैंक’ का अध्यक्ष विवेक शर्माले बताए । ‘कुनै व्यक्तिलाई अक्सिजनको आवश्यकता भएको खण्डमा सम्बन्धित वडाध्यक्षबाट सिफारिस ल्याउनुपर्ने हुन्छ,’ शर्माले भने । त्यसपछि उक्त व्यक्तिलाई सिलिन्डर पठाउने गरेको उनले जानकारी दिए । वडाध्यक्षको सिफारिस ल्याउन नसकेको खण्डमा क्लबले ती व्यक्तिका बारेमा सबै बुझेर मात्र अक्सिजन दिने गरेको उनले बताए ।

‘अक्सिजन निःशुल्क उपलब्ध गराए पनि सिलिन्डर पछि फिर्ता लिन्छौं,’ उनले भने, ‘सिलिन्डर फिर्ता गरून् भनेर चेक जम्मा गर्छौं ।’ कतिपय मानिसले आफ्नो काम पूरा भएपछि वा फ्रिमा आएको भन्दै नपुर्‍याउने गर्छन्, त्यसैले यस्तो प्रक्रिया अपनाएको उनले बताए । बैंकमा तीनपुस्ते विवरण दिएको हुँदा चेकका आधारमा पत्ता लगाएर सिलिन्डर फिर्ता ल्याउन सकिने उनको भनाइ छ ।

कोरोना भाइरस

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully