जसको प्रेरणाले संक्रमण बिर्साउँछ- समाचार - कान्तिपुर समाचार

जसको प्रेरणाले संक्रमण बिर्साउँछ

पहिले स्पाइनल कर्ड इन्जुरी, अहिले कोरोना संक्रमण । तैपनि रामबहादुर गोले आत्मविश्वासका साथ भन्छन्– ‘ फेरि जित्छु । तर , भाइरसभन्दा समाजले सतायो ।’
गोकर्ण गौतम

काठमाडौँ — १८ पुस ०६७
रामबहादुर गोलेका लागि अविस्मरणीय दिन । आफ्नो आधा शरीर मरेतुल्य भएको ‘अँध्यारो’ दिन बिर्सनु पनि कसरी ! 
सिन्धुपाल्चोक बसेलीका गोले भक्तपुर थिमिमा बस्थे । के सुर चल्यो कुन्नि, साथीहरूसँग खासा घुम्न निस्किए ।

फुरुङ्ग परेर फर्कंदै थिए, चौवन्न किलोमा उनी चढेको बस दुर्घटना भयो । हट्टाकट्टा गोलेको कम्मरमुनिको भाग मृततुल्य भयो । पोले नदुख्ने, काटे–घोचे पनि नदुख्ने । स्पाइनल कर्ड इन्जुरीबाट प्रताडित भएछन् ।

जीवन त्यहीँ सकियो जस्तो लागेको थियो तर कहाँ सकिन्थ्यो र ! आत्महत्याको प्रयास पनि गरे । तर, अहिले त्यो दुर्घटनालाई अभिशाप होइन, ‘वरदान’ मान्छन् । किन ? यो कथा पछि भनुँला ।

***

अब उनको जीवनमा आइपरेको अर्को ‘बज्रपात’ को कुरा गरौं ।

९ भदौ ०७७

यो दिन पनि रामले कहिल्यै बिर्सने छैनन् । आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको दिन ।आधा शरीर नचल्ने हुँदा २८ वर्षका थिए, ३८ वर्षमा कोरोना संक्रमित भए ।

अघिल्लो शनिबार उनकी पत्नी सानुमाया तामाङलाई कोरोना पोजिटिभ देखिएको थियो । दुवै काभ्रे साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा काम गर्छन् । गोले यस केन्द्रको मातहतमा चल्ने भ्वाइस सेन्टर दौंतरी परामर्शदाता हुन् भने सानुमाया हाउसकिपर । बिहान ९ बजे अफिस आउने, ५ बजे नजिकैको घरमा जाने गर्थे । बाहिर कतै निस्किएका थिएनन्, कसरी–कसरी भाइरसले भेटेछ । अहिले केन्द्रकै आइसोलेसनमा छन् । आफ्नो पहिचान खुलाउन अनुमति दिँदै शुक्रबार रामले कान्तिपुरसँग भने, ‘हामी दुवै एकदमै ठीक छौं । साधारण रुघाखोकीजस्तो पनि भएको छैन । दुखाइ केही छैन । बाहिर त्रास मात्र बढी फैलिरहेको जस्तो लाग्यो ।’ सतुवा, गुर्जो, जिरा, ज्वानो र बेसार पानी खाइरहेको उनले बताए । खानाचाहिँ बाहिरबाट केन्द्रले नै उपलब्ध गराउँछ ।

केन्द्रमा यतिबेला बिरामी, कुरुवा, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ३३ जना संक्रमित आइसोलेसनमा छन्, कर्मचारीमध्ये ह्विलचेयर प्रयोगकर्ताचाहिँ गोले मात्र हुन् । उनकै नजिकैचाहिँ ७ जना संक्रमित छन् । ‘म आउनुभन्दा अगाडि यहाँ अरू साथीहरू रोइरहनुभएको रहेछ । म आएपछि नियमित योग र म्युजिक थेरापी गरिरहेका छौं,’ उनले मुस्कुराउँदै भने, ‘अहिले हामी सबै हाँसी–खुसी बसिरहेका छौं । मरिएला भन्ने डर कसैलाई छैन ।’

सबै जना सबेरै उठ्छन्, गोलेले अनुलोमविलोम र कपालभाँती लगायतका श्वासप्रश्वाससम्बन्धी योग गराउँछन् । अरूले अन्य शारीरिक अभ्यास गर्छन् । त्यसपछि उनले उत्प्रेरणा र आशा जगाउने कुराकानी गर्छन् । साँझमा ठूलो स्वरमा गीत घन्काएर सबै नाच्छन्, गोले ह्विलचेयरबाट हात र कुम हल्लाउँछन् । त्यसपछि फेरि जीवन–उपयोगी बातचित हुन्छ । ‘हाम्रा लागि यही नै उपचार भइरहेको छ, सचेत भएर बस्छौं तर बेलाबेला संक्रमित हौं भन्ने नै भुल्छौं,’ उनले सुखद भोगाइ बाँडे । ज्यान आधा नचल्ने हुँदा पनि उनमा भरिएको आत्मविश्वासले अन्य सांग संक्रमितलाई ऊर्जा नमिल्ने कुरै भएन !

तर गोलेको मन आत्तिएको पनि छ । आफू र पत्नी होइन, छोराछोरीका कारण । उनीहरूलाई पनि कोरोना लाग्ला, केही होला भनेर होइन, छरछिमेकीको टोकेसो कसरी सहिरहेका होलान् भनेर ।

ह्विलचेयर प्रयोगकर्ता भएपछि राम र सानुमायाले कमाएको पैसाले भैंसेपाटी, साँगामा घर बनाए । एउटा सपना पूरा भयो । असारको अन्तिममा घर सरे । एक महिना मात्र आरामले बसेका थिए, सानुमायालाई कोरोना देखिइहाल्यो । ‘दुई दिनसम्म रोएकै–रोए भएँ, त्यसमाथि गाउँलेले छिःछि र दुरदुर गरे, म त मरेतुल्य भएँ,’ सानुमायाले भनिन् । पत्नी संक्रमित भएपछि गोलेको मुटुमा चिसो नपसेको होइन तर जसरी पनि बचाउँछु भन्ने आँट थियो । त्यस्तो बेला छिमेकीले साथ दिनु त परको कुरा, उल्टै दपेटेको गुनासो छ उनको । भन्छन्, ‘मेरी बूढीलाई मान्छे मारेको अपराधीजस्तै व्यवहार गरे । कोरोना भाइरसभन्दा समाजको भाइरसले बढी सतायो ।’

गोलेलाई संक्रमण भएपछि दुवै जना केन्द्रकै आइसोलेसनमा बसिरहेका छन् । घरमा १७ र १४ वर्षका छोराछोरी मात्र छन् । स्वाब बुधबार पठाइएको र शुक्रबारसम्म रिपोर्ट नआएको गोलेले बताए । बरोबर फोन गरेर छोराछोरीलाई सम्झाइरहन्छन्, छोराले त तैबिसेक बुझेका छन्, छोरी भने सधैं रोइरहन्छिन् । ‘छोराछोरीलाई रिपोर्ट आयो ? रिपोर्ट आयो ? भनेर छिमेकीले टर्चर दिँदारहेछन् । ठूलो स्वरले बोल्छन् भनेर छोरी फोनमा रुन्छे,’ गोलेले दबिएको स्वरमा भने ।

‘न आफू जान मिल्छ, न त गाउँलेले बुझिदिन्छन् । बडो सकस भइरहेको छ,’ उनले भने । उनलाई डर छ, गाउँलेको व्यवहारबाट आजित भएर छोरीले नराम्रो केही गर्लिन् भन्ने । त्यसैले छोरालाई बहिनीको विशेष ख्याल गर्न अह्राइरहेका छन् । जबकि गोलेले लकडाउनमा हातैले मास्क सिलाएर वरपर बाँडेका थिए ।

रूपरेखा अलग होला तर समाजको यो अपमान उनका लागि नौलो होइन । स्पाइनल कर्ड इन्जुरी भएर थलिएका बेला पनि उनलाई ढाडस होइन, जीवनप्रति थप वितृष्णा पैदा गरिदिने र खिसिट्युरी गर्ने धेरै थिए । निराश हुँदै भन्छन्, ‘पहिले पनि समाजबाट यातनाजस्तै पाइयो, अहिले पनि त्यस्तै भइरहेको छ ।’

दुर्घटनाअगाडि उनी भक्तपुरमा तरकारी बेच्ने, कहिलेकाहीँ मिस्त्री काम गर्थे । कम्मरमुनिको भाग फिटिक्कै नचल्ने भएपछि यहाँ खान, बस्नै धौधौ भयो, बालबच्चा र पत्नी लिएर गाउँ गए । आशा थियो– छरछिमेकी र आफन्त भरोसा बन्नेछन् । तर उनको शारीरिक अवस्था गाउँलेका लागि रमिताजस्तो भइदियो । छिनछिनमा टोकेसो सहनुपर्ने । सबैको सार हुन्थ्यो, ‘यस्तो ज्यान लिएर बाँच्नुको सार छैन, परिवारलाई बोझ मात्र ।’ उनलाई पनि घरीघरी त्यस्तै लाग्थ्यो, भविष्य अन्धकार मात्र देख्थें । आफ्नै कारण श्रीमती र छोराछोरी हेपिनुपर्थ्यो । यसबाट मुक्ति पाउन एउटै मात्र बाटो देखे, आत्महत्या । ‘सबैको घाँडो भएर बाँच्नुभन्दा मर्नु जाती देखें, आत्महत्या प्रयास पनि गरें तर मर्न कहाँ सजिलो रैछ र ? जीवनमा अझै कति भोग्नै बाँकी थियो,’ रामले ती दिनहरू सम्झँदै भने ।

सहारा होला भनेर गाउँ पुगेका थिए, मानसिक तनाव थपेर सहर फर्किए, परिवारैसहित । बिस्तारै आफूमा सकारात्मक भाव जगाउन थाले । नचलेको त कम्मरमुनि न हो । अरू अंग बलिया छन् । त्यसैले हिँड्न नसके पनि के–के गर्न सकिन्छ, ख्याल गर्न थाले । उनको आँखामा पर्‍यो, थांका आर्ट । ६ महिना सिके । त्यसपछि आफूजस्तै अपांगता भएका बालबालिकालाई थांका सिकाउने मौका मिल्यो । लगत्तै अहिले उनले काम गर्ने पुनःस्थापना केन्द्रसँग सम्पर्क भयो । शान्ति सेवागृह, तिलगंगामा सिलाइ–बुनाइ र पेन्टिङसम्बन्धी सीप सिके । तिनताका सानुमाया बनेपामा ज्यामी काम गर्थिन्, रामले खाम बनाउने टेलरको रोजगारी पाए । मासिक ६ हजार आउन थाल्यो । अनि बल्ल पलायो, जीवनप्रतिको आस ।

बाँच्ने आधार बनेपछि स्पाइनल कर्ड इन्जुरीसम्बन्धी जनचेतना फैलाउन लागिपरे । हिजो आफूजस्तै हीनताबोधमा बाँचिरहेकाहरूलाई समाजको अवरोध चिर्दै उत्साहमय जीवनमा फर्काउनु थियो उनलाई । त्यसैले काभ्रेको नमोबुद्धबाट लुम्बिनीसम्म ३ सय ६६ किलोमिटर ह्विलचेयर यात्राको योजना बनाए । १० चैत ०७० बाट सुरु भएको यात्रा ५ वैशाख ०७१ मा टुंगियो । यो यात्राले खुब चर्चा पाए । ‘नसक्ने ठाउँमा अरूको सहायता लिएर, सक्ने ठाउँमा आफैंले काम गर्नॅपर्छ । पहिले पनि खुट्टाले होइन, हात र दिमागबाट काम हुन्थ्यो । अहिले पनि सबल छन् जस्तो लाग्न थाल्यो,’ गोलेले आफूमा आएको परिवर्तनको रहस्य खोले । त्यही आँटले फेरि लुम्बिनीदेखि भारतको बोधगयासम्म ह्विलचेयरमै यात्रा गरे ।

घरीघरी उनलाई लाग्दोरहेछ, दुर्घटना नहुँदो हो त जीवन त्यतिकै बित्थ्यो, तरकारी पसले र मिस्त्री कामभन्दा माथि उठ्दैनथे । पढाइ थिएन, अरू काम जान्दैनथे । तर अहिले उनलाई पुग्दो दाम छ अनि नाम पनि । कैयौंका लागि प्रेरणा बनेका छन् । हिजो रुने बुबाआमा अहिले छोराको तरक्की देखेर दंग छन् । गाउँमा उस्तै शान छ । सरकारी स्कुलबाट झिकेर छोराछोरीलाई बोर्डिङ स्कुल पढाए । आफ्नै घर बनाए ।

उनकै शब्दमा, मन चंगा छ । तर, फेरि उनले युद्ध लड्नु परिरहेको छ, हिजोको जस्तै । हिजो शारीरिक अशक्तताजस्तै समाजले पीडा दियो । अहिले भाइरसभन्दा समाजले सताइरहेको छ । ‘त्यतिबेला गाउँलेहरू बूढीले तँलाई छाडेर पोइल जान्छे, बच्चाको बिजोग हुन्छ भनेर अत्याउँथे । बूढीलाई चाहिँ यो अपांगलाई छोडिनस् भने दुःख पाउँछ भनेर उचाल्थे,’ गोलेका शब्दहरूमा हाम्रो सामाजिक चरित्र प्रतिविम्बित भइरहेको थियो, ‘अहिले छोराछोरीलाई आमा त बाँचेर आउली तर बाबु दीर्घरोगी हो, फर्केर आउँदैन भनेर अत्याउँदै छन् । यस्तो सहनचाहिँ निकै मुस्किल पर्दोरहेछ ।’

कति मान्छेहरू हार मान्दैनन्, गोले त्यस्तैमध्ये एक हुन् । सानुमायाको अनवरत साथ उनको आत्मविश्वासको स्रोत बनेको छ । हिजो उनलाई ‘अब बाँच्दैनस्, बाँचिस् भने पनि यस्तो ज्यानले के गर्छस्, बरु मरे नै सुख पाउँछस्’ भन्नेहरू थिए तर कर्ममार्फत ती सबैको मुख बन्द गरिदिए । फेरि त्यही कथा दोहोरिँदै छ । बडो आत्मविश्वासी भएर भन्छन्, ‘हिजो मैले नै मेरो ज्यानको माया मारिसकेको थिएँ तैपनि यहाँसम्म आइपुगें । अहिले त मर्छु र मरिएला भन्ने रत्तिभर चिन्ता छैन । त्यसैले जसले जति हेला र अपमान गरे पनि फेरि गरेर देखाउँछु ।’

प्रकाशित : भाद्र १३, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी-२० भयो वासआउट

एजेन्सी

म्यानचेस्टर — इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी-२० शुक्रबार वर्षाले वासआउट भएको छ । डे नाइट खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डको इनिङ्स पनि पूरा हुन पाएन ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १६.१ ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाउँदा वर्षाले खेल रोकिएको हो ।

त्यसमा २१ वर्षका टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाए । यसक्रममा उनी ट्वान्टी-२० क्रिकेटमा इंग्ल्यान्डका लागि अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने ।

प्रकाशित : भाद्र १३, २०७७ ०६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×