संक्रमित स्वास्थ्यकर्मीका परिवारमै १० जनालाई कोरोना संक्रमण

भाद्र १२, २०७७

हरिहरसिंह राठौर

धादिङ — धादिङको त्रिपुरासुन्दरीको सल्यानटार माझगाउँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टका परिवारमा १० जना र ६ जना सहकर्मीलाई पनि कोरोना पुष्टि भएको छ । 

सामान्य लक्षण देखा परेपछि हेल्थ असिस्टेन्ट लगायत स्वास्थकर्मी र परिवारजनको भदौ ३ गते  लिएको स्वाबमा उनीसँगै परिवारका २ जना र ४ जना स्वास्थ्यकर्मीमा देखापरेको थियो । स्वास्थ्यकर्मीहरु लगायत परिवारजनमा कोरोना संक्रमण देखा परेपछि स्थानीय गाउँपालिकाले गत १० गते थप अन्य परिवारजन र स्वास्थ्यकर्मी, छिमेकीसहित ७० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा शुक्रबार प्राप्त नतिजा बमोजिम परिवारजनका थप ८ जना र स्वास्थ्यकर्मी थप २ जनामा देखा परेको हो । संक्रमित सबैलाई अस्पतालकै आइसोलेसमा राखिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले बताए ।

परिवारजनमा कोरोना देखिएपछि अन्य समुदायको समेत स्वाब लिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष शम्भु थापाले बताए ।


गत साउन १४ गते टेकुस्थित स्वास्थ्य बिमा बोर्डले कम्प्युटर लगायतका उपकरण लिन गएपछि १९ गतेसम्म नै स्वास्थ्य बिमा बोर्डकै काममा संलग्‍न २६ वर्षीय हेल्थ असिस्टेन्ट सल्यानटार फर्केपछि दैनिक काममा नियमित खटिएका थिए । उनी भन्छन्, ‘साउन ३२ गते ज्वरो आएर सामान्य लक्षण देखा परेपनि भदौ १ गते बिदामा बसेको र २ गते फेरि दैनिक काममा फर्केर करिब २४ जना स्थानीयहरुको विभिन्‍न स्वास्थ्य परीक्षण गरेको थिए । भदौ ३ गते स्वाब संकलन गरी ६ गते रिपार्ट आए पछि परिवारसहित को्रोना देखा परेको छ ।’ 

योसँगै धादिङमा कोरोना संक्रमितको संख्या  १ सय ९३ पुगेको छ । जिल्लामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

हरिहरसिंह

Link copied successfully