काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरूमा हवाइ सेवा सञ्चालनको तयारी भइरहेको बताएका छन् ।
मुलुकका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रूपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा उडान सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री भट्टराईले जानकारी दिएका हुन् ।
मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायु सेवा सञ्चालकहरूसँग केही हिमाली र पहाडी जिल्लाहरूबाट आन्तरिक उडान सुचारु गर्ने विषयमा कुरा भइरहेको बताए । उनले भने, ‘देशका विभिन्न ठाउँहरूमा निषेधाज्ञाको अवस्था भएकाले तत्काल विमान चल्ने अवस्था छैन । तर मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाहरूबाट उडान सञ्चालन गर्न सकिन्छ भनेर कुरा गरिरहेको छ । वायु सेवा सञ्चालकहरूसँग कुरा गरेर निष्कर्षमा पुग्छौँ । मन्त्रिपरिषदमा प्रस्ताव लगेर छिट्टै उडान सुरु गर्ने तिर जान्छौँ ।’
दसैं-तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुचारु गर्ने गरी तयारी भइरहको मन्त्री भट्टराईले बताए । ‘दसैं-तिहार लगायतका चाडवाडलाई मध्यनजर गर्दै उडान सुरु हुने अपेक्षा गरेका छौँ । एक ठाउँबाट अर्को ठाउँमा सहज ढंगले जानुपर्छ भन्ने कुरामा सरकारले सोच्नेछ ।’
आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो । भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै कार्यदलको सुझाव अनुसार वायु सेवा कम्पनीहरूसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने मन्त्री भट्टराईले बताए ।
