१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘एकका लागि एक’ अभियानबाट पीसीआर प्रयोगशाला

सहयोग जुट्ने क्रम जारी रहेकाले करिब ५० लाख रूपैयाँको ‘कोरोना विपद् कोष’ समेत स्थापना गर्ने तयारी
अर्जुन राजवंशी

बिर्तामोड — महेन्द्र गिरीले वैशाख ४ गते फेसबुकमा स्टाटस लेखे, ‘हामी सबै सम्पन्न एक घरले विपन्न एक परिवारका लागि राहत सहयोग गरौं । सरकारी बजेट सबैको स्वास्थ्य सेवामा खर्च गरोस् ।’ उक्त स्टाटसमा समर्थन जनाउने थुप्रै भए । कमेन्ट बक्समा सहयोगको वचन पनि आउन थाल्यो ।

‘एकका लागि एक’ अभियानबाट पीसीआर प्रयोगशाला

यसलाई अभियानका रूपमा अघि बढाउन धेरैले हौसला दिए । त्यसपछि बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी गिरीले निकटस्थसँग छलफल थाले । जसबाट विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न ‘एकका लागि एक’ अभियान सुरु गर्ने निर्णय भयो । अभियानको संयोजक गिरी नै भए ।

चैत ११ देखि लागू भएको लकडाउनको मार सबैभन्दा बढी अति विपन्न परिवारलाई थियो । खाद्यान्न संकटमा परेका परिवारका लागि २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल, दुई केजी नुन र दुई थान साबुनका दरले राहत वितरण गर्ने निर्णय गर्दै सहयोगको आह्वान गर्‍यो । दुई हजार रुपैयाँ मात्र पनि सहयोग गर्न पाउने भएपछि जोकोही आर्थिक सहयोग गर्न तयार भए । अभियानले श्रमिक दिवस (मे १) का दिन राहत वितरण सुरु गर्‍यो । ‘एक हजार परिवारलाई राहत वितरण गर्ने गरी हामी अघि बढेका थियौं । त्यसका लागि चाहिने रकम २–४ दिनभित्रै जुट्यो । तर, सहयोग आउने क्रम रोकिएन,’ संयोजक गिरीले भने ।

अभियानले १ हजार ७ सय ३५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । हाट–बजारमा अलपत्र परेका तथा मजदुरलाई ९ हजार ३ सय २५ छाक खाना खुवाएको अभियानका सदस्य मात्रिका सुवेदीले जानकारी दिए ।

जेठदेखि भारतका विभिन्न स्थानबाट घर फर्किनेको संख्या ह्वात्तै बढेपछि जिल्लामा स्वाब नमुना संकलन गर्न आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) अभाव हुन थाल्यो । अभियानले तत्काल ८ सय ४० थान भीटीएम किट र २ सय थान आरडीटी किट खरिद गरेर जिल्ला प्रशासनमार्फत पालिकाहरूलाई वितरण गर्‍यो । भारतबाट आएर बिर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युटमा निर्माण गरिएको होल्डिङ सेन्टरमा बसेका करिब ३ हजार जनालाई जेठ ७ देखि २८ सम्म खाना खुवाएको थियो । सेन्टरमा तन्ना, ब्ल्याङकेटलगायत सामग्रीसमेत सहयोग गरेको थियो ।

कोरोना महामारीले विश्व नै आक्रान्त बनिरहेका बेला स्वास्थ्य सुरक्षाका साथ अभियानका २०–२१ जना सदस्य तीन महिनादेखि राहत वितरणलगायत सामाजिक काममा खटिरहे । पारदर्शिताका साथ सामाजिक कार्य गरिएकाले अभियानलाई आर्थिक सहयोग गर्नेको संख्या झन् बढेर गयो । त्यसपछि अभियानले जिल्लामा पीसीआर परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने काम अघि बढायो । स्वाबको नमुना संकलन गरेर धरान र विराटनगरका प्रयोगशालामा पठाएको एक सातासम्म रिपोर्ट प्राप्त गर्न नसकिरहेको अवस्थामा जिल्लामै प्रयोगशाला स्थापना गर्ने भनिएपछि देश–विदेशमा रहेका जिल्लावासी उत्साहित बने ।

४२ मुलुकमा सञ्जाल रहेको ‘अन्तर्राष्ट्रिय झापाली समाज’ र जिल्ला सहकारी संघमार्फत सहकारी संस्थाहरूले २५/२५ लाख रुपैयाँ सहयोग गरे । ‘छोराछोरीको जन्म दिनको खर्च, वैवाहिक वर्षगाँठको खर्च ल्याब स्थापनामा सहयोग गर्न थाले,’ अभियानका सहसंयोजक विनोद बस्नेतले भने, ‘सहयोगबाटै राहत वितरणसँगै ल्याब स्थापना गर्न सफल भयौं । अझै सहयोग आइरहेको छ ।’

अभियानले कनकाई नगरपालिकास्थित कोटीहोममा पीसीआर प्रयोगशाला स्थापना गरिसकेको छ । अमेरिकी कम्पनी ‘थर्मोफिसर क्वाइन्ट स्टुडियो फाइभ’ पीसीआर मेसिनसहितको प्रयोगशाला स्थापना गरिएको अन्नपूर्ण न्युरो हस्पिटल काठमाडौंका मेडिकल माइक्रो बायोलोजिस्ट अनिल साहले जानकारी दिए । उनका अनुसार प्रयोगशालामा एकपटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिन्छ । अभियानले थप मेसिन जडान गरेर दिनमा एक हजार नमुनाको रिपोर्ट निकाल्न मिल्ने गरी क्षमता विकास गर्नेतर्फ पनि छलफल अघि बढाएको छ ।

अभियानले प्रयोगशाला प्रदेश १ सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । उक्त प्रयोगशाला भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल मातहत रहने प्रदेश सरकारको निर्णय छ । प्रयोगशाला सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति प्रदान गरिसकेको गिरीले जानकारी दिए । ‘जनस्तरबाट ल्याब स्थापना भएपछि स्थानीय तहहरू उत्साहित भएका छौं,’ कनकाईका मेयर राजेन्द्र पोखरेलले भने, ‘यो ल्याबले जिल्लाको मात्र होइन, पूर्वी पहाड इलाम, पाँचथर र ताप्लेजुङसम्मलाई सहजै सेवा दिन सक्छ ।’

उक्त प्रयोगशालामा कोरोना महामारीपछि पनि एचआईभी, क्षयरोग, मलेरिया, हेपाटाइटिसलगायत रोगहरूका लागि परीक्षण गर्न सकिने अभियानका संयोजक गिरीले बताए । प्रयोगशालाका लागि मेडिकल माइक्रो बायोलोजिस्टसहित चार जनाको जनशक्ति नियुक्ति गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । शतप्रतिशत जोखिम भत्तासहित ल्याबका प्राविधिकहरूको दुई वर्षको खर्च व्यवस्थापन भइसकेको गिरीले जानकारी दिए । त्यसका लागि कनकाई नगरपालिकाले २५ लाख, बिर्तामोड, शिवसताक्षी, अर्जुनधारा र मेचीनगर नगरपालिकाले १०/१० लाख तथा बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकाले ५/५ लाख रुपैयाँ सहयोग गर्ने सहमति जनाइसकेका छन् ।

प्रयोगशाला सञ्चालनका लागि कनकाई नगरपालिकाले कार्यविधि बनाउने भएको छ । प्रयोगशाला स्थापनामा करिब एक करोड रुपैयाँ खर्च भएको अभियान सचिवालयले जनाएको छ । सहयोग जुट्ने क्रम जारी रहेकाले करिब ५० लाख रुपैयाँको ‘कोरोना विपद् कोष’ समेत स्थापना गर्न लागेको गिरीले बताए । ‘कोरोना महामारी सकिएपछि पनि जिल्लामा घट्ने ठूला किसिमका विपद्का बेला चलाउन मिल्ने गरी कोष स्थापना गर्न लागिरहेका छौं,’ उनले भने ।

अभियानमा भदौ ४ गतेसम्म १ करोड ७७ लाख ४ हजार ५ सय ८५ रुपैयाँ सहयोग जुटेको छ । अभियानलाई देशभित्रका १ हजार २ सय ७८ र विदेशबाट ६० जनाले व्यक्तिगत तथा देशभित्रका १ सय २३ र विदेशका ९ संस्थाले आर्थिक सहयोग गरेका हुन् ।

प्रकाशित : भाद्र ९, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?