बीपी प्रतिष्ठानमा उपचाररत सिराहाका कोरोना संक्रमित युवकको मृत्यु

भाद्र ८, २०७७

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत २२ वर्षीय युवाको सोमबार अपरान्ह ३ बजे मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिराहाको लाहान गोविन्दपुर बस्ने युवाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक युवालाई अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको थियो । सिकिस्त भएपछि उनलाई प्रतिष्ठानकै आईसीयूमा भर्ना गरिएको थियो । भदौ ७ गते उनको पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि सोही दिन कोभिड १९ अस्पतालको आईसीयूमा सारेर भर्ना गरिएको थियो । 

प्रवक्ता सापकोटाकाअनुसार मृत युवा लागुपदार्थको सेवनकर्ता हुनुका साथै मुटु सम्बन्धी दीर्घ रोगी रहेका थिए । उनको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रवक्ता सापकोटाले बताए । योसहित प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

Link copied successfully