संखुवासभा — आइसोलेसन तोडफोड गरेको आरोपमा संखुवासभा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।
खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसमा निर्मित आइसोलेसन बिहीबार राति तोडफोडपछि आइसोलेसनमा राखिएका सामानहरु समेत हराएका थिए । यसअघि प्रहरीले तोडफोडको आरोपमा क्याम्पस प्रमुख मात्रिकाप्रसाद तिम्सिनालाई पक्राउ गरेको थियो ।
आइसोलेशन तोडफोड र सामान गायब बनाएको आरोपमा प्रहरीले खाँदबारी-७ का हरि बुढाथोकी, पासाङ शेर्पा, विकास थापामगर र लाखबहादुर राईलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको डीएसपी नवराज मल्ले बताए । तोडफोड पछि हराएका स्वास्थ्य सामाग्री खोजतलास भइरहेपनि फेला नपरेको उनले बताए ।
जिल्ला अस्पतालका मेसु डा. सुन्दरश्याम झाका अनुसार तोडफोड पछि आइसोलेसनमा पुनः अस्पतालबाट नयाँ स्वास्थ्य सामाग्री लगेर ४ जना कोरोना संक्रमितको उपचार गरिरहेको बताएका छन् ।
