संखुवासभा — कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड र स्वास्थ्य सामाग्री गायब बनाएको आरोपमा हिमालय किरण क्याम्पसका प्रमुख मात्रिका तिम्सिना पक्राउ परेका छन् ।
शनिबार जिल्ला प्रहरीले एक विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुख तिम्सिनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अस्पताल संखुवासभाका अनुसार आइसोलेसनमा प्रयोग गर्नका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि हराएको थियो । करिब १५ लाख रुपैयाँ बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको हो ।
हाल आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको उनले बताए ।
