मुलुकभर १० हजार भेन्टिलेटर र आइसीयुको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन 

भाद्र ५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमितको संख्या दिनदिनै वृद्धि भइरहेको र अवस्था भयावह भइरहेको भन्दै उपचारका लागि मुलुकभर १० हजार भेन्टिलेटर र आइसीयूको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकले सरकारलाई पर्याप्त स्वास्थ्य सामग्रीको जोहो गर्न र गम्भीर भएर जनताको स्वास्थ्य उपचारमा लाग्न निर्देशन दिएको हो । 

समितिको भर्चुअल बैठकले सरकारलाई दिएको निर्देशनमा भनिएको छ, 'तत्काल १० हजारको संख्यामा भेन्टिलेटर र आइसीयूको व्यवस्था गर्ने एवं यस्ता उपकरणको समानुपातिक ढंगले वितरण गर्नुपर्ने । साथै भेन्टिलेटर र आइसीयूको संचालन गर्नसक्ने दक्ष जनशक्तिको आवश्यकताका आधारमा नियुक्ति गर्नुपर्ने ।'

समितिले ७७ वटै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउन र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गरेर अगाढि बढ्न पनि निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । समितिले जोखिम न्यूनीकरण गर्नतर्फ सरकारलाई निर्देशन दिएको उनको भनाइ थियो । 

समितिले दिएको निर्देशनमा कोरोना डेडिकेटेड अस्पतालको संख्या तत्काल वृद्धि गर्न पनि भनिएको छ । त्यस्तै, कोरोना र कोरोना बाहेकका बिरामी उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्व सावधानी र उचित सतर्कता साथ गर्ने गरी तत्काल प्रबन्ध मिलाउन पनि भनिएको छ । सरकारले कोरोना लागेका व्यक्तिहरूको उपचार गराउनका लागि प्रत्येक अस्पतालालई ३० प्रतिशत बेड छुट्याउन भनेको थियो । त्यसले गर्दा कोरोना नभएका अन्य रोगका बिरामीमा पनि सर्नसक्ने भन्दै सरकारको आलोचना भएको थियो । सरकारको निर्णयको आलोचना भइरहेको अवस्थामा संसदीय समितिले भने आवश्यक सतर्कता अपनाउन निर्देश दिएको हो । 

'कोभिड- १९ को उपचारका लागि निजी अस्पताल र मेडिकललाई समेत प्रयोग गर्नको लागि राज्यको तर्फबाट आवश्यक साधन स्रोत सहयोग गरी आमनागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गराउने,' समितिको निर्देशनमा भनिएको छ, 'कोभिडबाहेकका रोगका बिरामीको उपचार गर्नर्तर्फ सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने र यसबमोजिम व्यवस्था देशभरका सबै अस्पतालमा मिलाउने ।' 

संसदीय समितिले कोभिड- १९ को रोकथाम, नियन्त्रण र उपचारको लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सुरक्षाको सुनिश्चितता गरी उनीहरूको मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचार लगायतको प्रभावकारी व्यवस्था मिलाउन  पनि सरकारलाई निर्देशन दिएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणबारे संसदीय समितिले गरेको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. रोशन पोख्रेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको उपस्थिति थियो । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully