कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

जोखिममा स्वास्थ्यकर्मी, भन्छन्- 'हामीलाई नै संक्रमण भएपछि कसले उपचार गर्ने ?'

देशभर २६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित
बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना संक्रमण बढेसँगै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु पनि उत्तिकै जोखिममा रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभर कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या २ सय ६० पुगेको जनाएको छ ।

जोखिममा स्वास्थ्यकर्मी, भन्छन्- 'हामीलाई नै संक्रमण भएपछि कसले उपचार गर्ने ?'

महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेका अनुसार संक्रमित स्वास्थ्यकर्मीको संख्या यो भन्दा बढी पनि हुन सक्छ । ‘हामीले यसको तथ्यांक निरन्तर रुपमा अद्यावधिक गरिराखेका छौं तर सम्बन्धित स्वास्थ्य संस्थाबाट एकिन तथ्यांक प्राप्त नभएकाले संक्रमित स्वास्थ्यकर्मीको संख्या यो भन्दा बढी पनि हुन सक्छ,' महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेले भने ।

नेपालमा पहिलो पटक वैशाख ३० गते कपिलवस्तुस्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि भने स्वास्थ्यकर्मीमा संक्रमण देखिने संख्या बढ्दो देखिन्छ । ईडीसीडीका अनुसार हालसम्म मेडिकल अफिसर(चिकित्सक) ६०, नर्स ६२, प्यारामेडिक्स ५१, ल्याब कर्मचारी २१ र अस्पतालका कर्मचारी तथा अन्य गरी ६६ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

उपत्यकाका १४ वटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको छ भने मुलुकभरका ८० भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु संक्रमित रहेको महाशाखाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सजग र सचेत नभए ठूलो दुर्घटना निम्तिन सक्ने खतरा औल्याउँछन् । उनी भन्छन्,‘संक्रमितको उपचारमा खटिने सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी नै रहेका छन् । उनीहरु नै संक्रमित भए नियमित स्वास्थ्य सेवा लिन जाने व्यक्तिमा पनि संक्रमणको जोखिम बढ्छ । मुख्य कुरा संक्रमण कसरी जोगाउने भन्ने हो । स्वास्थ्यकर्मी नै कोरोना देखियो भने कसले उपचार गर्ने ?'

स्वास्थ्यकर्मी तथा बिरामी दुवैले जनस्वास्थ्यका मापदण्ड तथा व्यवहार कडा रुपमा पालना गर्नुपर्ने उनले बताए । बेलैमा ध्यान दिइएन भने सबै स्वास्थ्य सेवा प्रवाह गर्ने प्रणाली ध्वस्त हुन सक्ने उनले चेतावनी दिए ।

फ्रन्टलाइनमा खटेर कोरोना संक्रमितको उपचार गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला भन्छन्,‘अस्पताल संक्रमणको उच्च जोखिममा छ । देशभर कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मी कम छन्, उनीहरुलाई नै संक्रमण भयो भने सबै सेवा नै प्रभावित हुन्छन् । '

धेरै ठाउँमा संक्रमण नियन्त्रणमा ध्यान नपुर्‍याइएको उनले बताए । सुरक्षा कवच राम्ररी फुकाल्न नजान्दा पनि स्वास्थ्यकर्मीमा संक्रमण बढेको उनले औंल्याए ।

उपत्यकाका कुन अस्पतालमा कति स्वास्थ्यकर्मी संक्रमित ?

ह्याम्स अस्पताल ६ जना

अल्का अस्पताल ६ जना

बि एन्ड बि अस्पताल २ जना

बयोधा अस्पताल ३ जना

वीर अस्पताल २ जना

ट्रमा सेन्टर १

विरन्द्र सैनिक अस्पताल १ जना

त्रिवि शिक्षण अस्पताल ८ जना

इडिसिडी १ जना

नेपाल कोरिया मैत्री असपताल २ जना

नेपाल मेडिकल कलेज जोरपाटी २ जना

स्टार अस्पताल १ जना

स्किन केयर अस्पताल १ जना

काठमाडौँ मेडिकल कलेज सिनामंगल ४ जना

प्रकाशित : श्रावण २६, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?