कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आईसीयू भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्दो

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ बाट संक्रमित भई आईसीयूमा भर्ना हुनेको संख्या बढ्न थालेको छ । केही दिनयता लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगै आईसीयूमा जानेको संख्यामा वृद्धि भएको हो ।

आईसीयू भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्दो

‘हाल करिब एक तिहाइ कोरोना संक्रमितमा लक्षण देखिराखिएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘केही दिनअघिसम्म ९९.७ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन, हाल त्यो अवस्थामा परिवर्तन भइरहेको छ । यो खतराको संकेत हो ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा एक जना, पाटन अस्पतालमा २ जना गरी उपत्यकामा ११ जना आईसीयूमा छन् । थप एक जना भेन्टिलेटरमा समेत छन् । यस्तै, धुलिखेल अस्पतालमा एक जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । देशभर २२ जना आईसीयूमा रहेको डा. अधिकारीले जानकारी दिए । बुधबार मृत्यु भएका तीनै संक्रमित आईसीयूमा उपचाररत थिए । जसमध्ये मोरङका ४५ वर्षीय पुरुषलाई भेन्टिलेटरमा समेत राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार मिडिया ब्रिफिङका क्रममा जानकारी गराएका थिए ।

यस्तै, वीरगन्ज र काठमाडौंमा दुई जना चिकित्सक संक्रमणपछि आईसीयूमा उपचाररत छन् । हाल चिकित्साकर्मीहरूमा सबैभन्दा बढी संक्रमण वीरगन्जमा देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । ‘हामीकहाँ एक डाक्टरसहित ५ जना संक्रमित आईसीयूमा छन्, त्यसमध्ये एक जनालाई भेन्टिलेटरमा राखिएको छ,’ उनले भने, ‘२ जना अर्थोपेडिक चिकित्सक, एक जना सर्जन, ३ जना फिजिसियन, २ जना मेडिकल अधिकृत, २ जना मेडिकल विद्यार्थी, ८ जना नर्सिङ स्टाफ, ६ जना स्विपर, २ जना पारामेडिक्स र एक जना एम्बुलेन्स चालकमा संक्रमण देखिएको छ ।’

धनुषा जिल्ला आइसोलेसन संयोजक डा. जामुन सिंहका अनुसार त्यहाँको कोभिड हस्पिटलमा ‘हाई भाइरल लोड’ भएका ५५ वर्षीय एक पुरुष आईसीयूमा छन् । उनलाई कुनै पनि बेला भेन्टिलेटरको आवश्यकता पर्न सक्ने बताउँदै उनले भने, ‘आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या अझ बढ्न सक्छ ।’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानी हालसम्मको विश्वको ट्रेन्ड हेर्दा ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण आफैं निको हुने बताउँछन् । ‘१५ देखि २० प्रतिशत संक्रमितलाई अस्पताल जानुपर्छ । अस्पताल गएका मध्ये करिब एक तिहाइलाई आईसीयूमा राख्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

उपचार शुल्क तोकियो

सरकारले निजी स्वास्थ्य संस्थाका लागि संक्रमितको उपचार शुल्क तोकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सामान्य बिरामीका लागि अस्पतालले सेवा शुल्क प्रतिदिन ३ हजार ५ सयभन्दा बढी लिन पाउँदैनन् । मध्यम जटिल बिरामीको हकमा दैनिक अधिकतम सेवा शुल्क ७ हजार र जटिल, गम्भीर बिरामीका लागि दैनिक १५ हजारभन्दा बढी लिन पाइँदैन ।

प्रकाशित : श्रावण १६, २०७७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?