कालीकोटमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ४ जना बेपत्ता- समाचार - कान्तिपुर समाचार

कालीकोटमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ४ जना बेपत्ता

तुलाराम पाण्डे

कालीकोट — मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने दुई बालक बेपत्ता छन् । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको शव भेटिएको छ ।

राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढाको शव निकालिएको ओलियाले जानकारी दिए । ७ वर्षीय बालक रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा बेपत्ता छन् । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । पहिरोमा ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढा बेपत्ता भएका छन् ।

प्रकाशित : श्रावण १४, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

टेस्ट क्रिकेटका सर्वाधिक सफल ६ बलर

कान्तिपुर संवाददाता

काठमाडौँ — इंग्ल्यान्डका फास्ट बलर स्टुवार्ट ब्रोडले मंगलबार आफ्नो पाँच सय टेस्ट विकेटको कोसेढुंगा उपलब्धि पूरा गरे । उनको उत्कृष्ट प्रदर्शनकै कारण इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्ट मात्र जितेन, तीन टेस्टको सिरिज नै हात पार्न पनि सफल रह्यो । इंग्ल्यान्डका लागि १ सय ४० टेस्ट खेल्दै उनले लिएको विकेट संख्या पुगेको छ, ५ सय १ ।

उनी टेस्ट क्रिकेटमा पाँच सय विकेट लिने सातौं बलर मात्र हुन्, त्यसमा पनि फास्ट बलरमध्ये चौथो । उनको यो प्रदर्शनपछि सबैको कौतुहलता बढेको छ, टेस्ट क्रिकेटका सर्वाधिक सफल बलर को-को हुन त ? ब्रोड अगाडि पाँच सय विकेट लिने ६ जना बलर रहेका छन् र त्यसमध्ये सबैभन्दा शीर्ष स्थानमा रहेका छन्, श्रीलंकाका मुथैया मुरलिधरन । ती ऐतिहासिक ६ बलर यसप्रकार छन् ।

मुथैया मुरलिधरन

टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिएको कीर्तिमान मुथैया मुरलिधरनको नाममा छ । श्रीलंकाका यी अफ स्पिनरले आठ सय विकेट लिएका छन् । उनी आठ सय विकेट छुने एक मात्र बलर हुन् । यसका लागि उनले १ सय ३३ टेस्ट खेले ।

अहिले सन्यास लिइसकेका मुरलिधरन आफ्नो बलिङ शैलीका कारण पनि धेरै पल्ट विवादमा परे । तर श्रीलंकाली क्रिकेटले सन् १९९० यता लिएको प्रगतिमा उनी एक निर्णायक खेलाडी हुन् । तमिल मूलका खेलाडी भएका हुनाले पनि उनको महत्त्व बढी रहेको छ, श्रीलंकाली क्रिकेटमा ।

शेन वार्न

विश्व क्रिकेटले देखेका अहिलेसम्मकै सबैभन्दा महान खेलाडीमा शेन वार्नको नाम पनि आउने गर्छ । भलै उनको व्यक्तिगत जीवन निकै विवादपूर्ण रह्यो । तर मैदानमा उनी गज्जबका खेलाडी थिए र लेग स्पिन बलिङ आक्रमणको पुनर्जागरणमा उनको सबैभन्दा ठूलो हात छ ।

उनले अस्ट्रेलियाका लागि १ सय ४५ टेस्ट खेले र हात पारे, ७ सय ८ विकेट । उनको उत्कृष्ट प्रदर्शनको मदतले अस्ट्रेलियाले विश्व क्रिकेटमा प्रभुत्व जमाएको थियो ।

अनिल कुम्बले

टेस्ट क्रिकेटमा सार्वधिक विकेट लिने बलर सूचीमा स्पिनरकै प्रभुत्व छ र यसैक्रममा तेस्रो स्थानमा आउने गर्छन्, भारतका अनिल कुम्बले । मुथैया मुरलिधरन र शेन वार्न दुवै उनका समकालीन खेलाडी हुन्, कुम्बले अझ केही सिनियर खेलाडी हुन् ।

आफ्नो समयमा भारतीय बलिङ आक्रमणको मुख्य अस्त्र रहेका कुम्बलेलाई लेग स्पिनर होइन भनेर विवाद गर्ने पनि उत्तिकै छन् । उनले १ सय ३२ टेस्टमा ६ सय १९ विकेट लिएका छन् र यसले पनि देखाउँछ, उनी कत्तिको बलर हुन् भनेर ।

जेम्स एन्डरसन

तीन स्पिन बलरपछि टेस्ट क्रिकेटमा सर्वाधिक सफल सूचीमा आउने पहिलो फास्ट बलरको नाम हो, जेम्स एन्डरसन । उनले इंग्ल्यान्डका लागि भर्खरै १ सय ५३ औं टेस्ट खेले र यसक्रममा हात पारेका छन्, ५ सय ८९ विकेट ।

सर्वाधिक विकेट लिने बलर सूचीको शीर्ष ६ बलरमध्ये अहिलेसम्म पनि खेलिरहेका एक्ला बलरमा पर्छन्, उनी । उनले कहिले सन्यास लिने हो, त्यसबारे केही भनेका छैनन्, सम्भवत: उनी अनिल कुम्बलेलाई उछिन्न चाहन्छन् ।

ग्लेन म्याकग्रा

अस्ट्रेलियाले टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको प्रभुत्व तोड्दै आफ्ना वर्चश्व सुरु गर्दाका खेलाडी हुन्, ग्लेन म्याकग्रा । यी दायाँ हाते बलरमा खुबै विविधता थियो र प्रत्येक समय उनी नयाँ फरक आक्रमण बन्नु सक्षम हुन्थे । यस्तै उनको बलिङ आक्रमण निमयति रूपमा अनुशासित हुन्थ्यो ।

उनले कुल १ सय २४ टेस्ट खेलेका छन् र यसक्रममा लिएका छन्, ५ सय ६३ विकेट । उनले लामो समय आफ्नो देशका लागि प्रारम्भिक बलरको भूमिका निभाए र त्यसमा सफल पनि रहे ।

कर्टनी वाल्स

वेस्ट इन्डिजले झण्डै दुई दशक भन्दा बढी समय विश्व क्रिकेटमा आफ्नो एकछत्र प्रभुत्व जमायो । टेस्ट क्रिकेटमा त उसलाई चुनौती पेस गर्न सक्ने टिम नै थिएन् । यही टिमको अन्तिम पुस्ताका खेलाडी हुन्, कर्टन वाल्स ।

उनको सटिक फास्ट बलिङ आक्रमणको मदतले वेस्ट इन्डिज सन् नब्बेको अन्त्यसम्म उत्तिकै बलियो टिम थियो । निकै भलाद्मी खेलाडी मानिने वाल्सले कुल १ सय ३२ टेस्ट खेल र यसमा हात पारे, ५ सय १९ विकेट ।

प्रकाशित : श्रावण १४, २०७७ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×