लमजुङमा पहिरोले १८ घर पुरिए, जोखिमको आकलनले गाउँले जोगिए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा पहिरोले १८ घर पुरिए, जोखिमको आकलनले गाउँले जोगिए

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ । जम्मा ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए । उनका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए । 

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारी गाउँमा गएको पहिरो

मंगलबार पहिरो गएको ठाउँबाट पुन: पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन् । पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए ।

उद्धारकार्यमा खटिएका पल्लोगाउँ सेग्लेका गुमानसिंह भण्डारीका अनुसार पहिरोले घरहरु पुरिँदा घरभित्रका सामानहरु निकाल्न पाइएको छैन । स्थानीय साथै वरपरका बासिन्दा उद्धार कार्यमा संलग्न रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो गएको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको बताए ।

लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पुर्‍याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्‍याएको बताए । घटनास्थलमै रहेका उनले सबैजना उद्धार कार्यमा जुटिरहेकाले क्षतिको विवरण अझै आइनसकेको बताए । ‘३/४ जना घाइते छन् । हिजो स्थानान्तरण भएकाले मानवीय क्षति भने हुन पाएन,’ उनले भने ।


प्रकाशित : श्रावण ७, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमणबाट महोत्तरीका ६४ वर्षीय पुरुषको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
सुनिता बराल

महोत्तरी — महोत्तरी गाउँपालिका–३ मडही घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको छ । सरकारी सेवाबाट अवकाश लिई घरमै बसेका उनको मंगलबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको महोत्तरी स्वास्थ्य कार्यालयका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दै नेपाली सेनाको टोली

रुघाखोकीले सताएपछि उनी १५ दिन पहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पतालले धरान रेफर गरेको थियो ।

धरानमा गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको दुई दिनमै उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । खेतमा काम गर्ने क्रममा झरीमा रुझेपछि रुघाखोकी सुरु भएको र कोरोनाको संकेत देखिएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको परिवारले जनाएको छ ।

मंगलबार साँझ उनलाई अस्पतालले मृत घोषणा गरेपछि परिवारजनले बुधबार शव जिल्लामा ल्याएका हुन् । नेपाली सेनाको टोलीले उनको शवलाई व्यवस्थापन गरिसकेको छ । नेपाली सेनाले महोत्तरीको जलेश्वर–१ स्थित रातु खोलानजिक शव व्यवास्थापन गरिएको रणभीम गण महोत्तरीका गणपति विदुर अधिकारीले जानकारी दिए ।

योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मंगलबार साँझसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ९ सय ९४ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये १२ हजार ४ सय ७७ जना निको भएका छन् ।

प्रकाशित : श्रावण ७, २०७७ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×