बाजुरामा बाढीले पक्की पुल बगायो

श्रावण ६, २०७७

मेनुका ढुंगाना

अछाम — साँफे-मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा अवस्थित पक्की पुल बाढीले बगाएको छ । जिल्ला भित्रिने मुख्य सडक अवरुद्ध भएपछि बाजुरा जिल्लामा यातायात सेवा ठप्प भएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार राति परेको अविरल वर्षासँगै घट्टेखोलामा बाढी आउँदा सो पुल बगाएर बुढिगंगा नदीमा मिसिएको हो ।

पहिरो गएको क्षेत्रमा खानेपानीको समस्या निम्तिएको गैरेले बताए । उनका अनुसार ताप्रीसेरा माथिका बजेडी र नडाङ गाउँ पहिरोको जोखिममा परेका छन् । 'यातायात ठप्प भएको छ । सुरक्षाकर्मी, रेडक्रसको टोली र जनप्रतिनिधि घटनास्थल पुगेका छन्,' उनले भने,'उच्च जोखिममा रहेका बजेडीका पाँच परिवारलाई आफन्तकोमा राखिएको छ ।'

'मार्तडीबाट सरोकारवालाको टोली हिँडेरै घटनास्थल पुगेको हो,' उनले भने,'अम्कोटदेखि मार्तडीसम्म १० भन्दा बढी ठाउँमा पहिरो गएको छ।' ताप्रीसेरासँगै जोडिएको अमकोट-द्वारीमा यसअघि नै पहिरो खसेको थियो । 

एक सातादेखि अवरुद्ध बाजुराको साफेँ-मार्तडी सडक खण्डको काम मंगलबारदेखि सुरु भएको छ । अविरल वर्षासँगै पहिरोले बुढीगंगा नगरपालिकाको अम्कोटमा सडक भाँसिदा सडक अवरुद्ध भएको थियो ।

बाढी-पहिरो

मेनुका

Link copied successfully