काठमाडौँ — मुलुकभर भारी वर्षा हुने भन्दै आगामी साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई सरकारले सतर्क रहन अपिल गरेको छ ।
आगामी ५ दिनसम्म मनसुनमा बदली भई भारी वर्षाका हुने र यसबाट कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै गृह मन्त्रालयले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो । प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान छ ।
प्रदेश २ का ८ वटै जिल्ला डुबानको उच्च जोखिममा छन् । विशेषगरी रातको समयमा बढी सतर्क रहन सरकारले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षा निकायसहित स्वयंसेवक, स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि तयारी हालतमा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई स्वयं सतर्क रहन आग्रह गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जोखिमबाट बच्न पाहुना लागेर भएर पनि सुरक्षित स्थानमा जान प्रभावित क्षेत्रका नागरिकलाई सुझाव दिए । ‘सम्भावित विपद्विरुद्ध जुध्न खोज/उद्धार र क्षति न्यूनीकरणका सबै उपाय अपनाइए पनि सर्वसाधारण आफैं सचेत हुन आवश्यक छ, खासगरी रातको समयमा बढी सतर्क हुनुपर्छ,’ उनले भने, ‘साउन ८ सम्म भारी वर्षा हुने र यसबाट बाढी र डुबानको बढी जोखिम छ ।’
हिउँदमा बिनाइन्जिनियरिङ खनेका सडकले जमिनको सतह हल्लाएर पहिरोको जोखिम बढाएको र मनसुनका बेला खोलाखोल्सी हुँदै खहरेमा भेल आउँदा त्यसको असर ठूला नदीको बहावमा पर्न गएको प्राधिकरणले जनाएको छ ।
यस वर्ष मनसुन सुरु भएयता जेठ ३० देखि साउन २ गतेसम्म बाढीपहिरो र डुबानबाट १ सय ९ जनाको मृत्यु भएको छ । जसमध्ये पहिरोबाट १ सय ४ को मृत्यु र ४३ बेपत्ता तथा बाढी र डुबानबाट ५ को मृत्यु, ५ बेपत्ता भएका छन् । यो अवधिमा चट्याङबाट मात्रै १७ जनाले ज्यान गुमाएका छन् ।
