नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

श्रावण २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि सारिएको बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसअघि शुक्रबार बिहान ११ बजेका लागि  बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । नेकपाको आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । यसैबीच शनिबार दिउँसो ३ बजेका लागि नेकपाको सचिवालय बैठक पनि बोलाइएको छ ।

शुक्रबार पनि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हो ।

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully