२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

नेपाललाई ओली पक्षको प्रस्ताव : प्रधानमन्त्रीको उम्मेदवारमा दाहालको विकल्प खोजौं

पार्टीको, तपाईंहरूको एजेन्डा भएको भए छुट्टै कुरा, भारतले माग्दैमा मैले किन राजीनामा दिऊँ : प्रधानमन्त्री ओली
बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने या नदिने भन्नेमा दुई सातादेखि चलिरहेको नेकपाको विवाद तत्काल समाधान नभएपछि सहमतिको विकल्प खोज्न नेताहरूले थप समय लिने भएका छन् । त्यही कारण शुक्रबारका लागि निर्धारित स्थायी कमिटी बैठक औपचारिकताका लागि मात्र बस्नेछ । त्यसपछि अहिलेकै विषयमा छलफल गर्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ ।

नेपाललाई ओली पक्षको प्रस्ताव : प्रधानमन्त्रीको उम्मेदवारमा दाहालको विकल्प खोजौं

प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालबीच बिहीबार भएको छलफलमा पनि अडान यथावत् रहेपछि नेताहरू संवादका लागि थप समय लिने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री ओलीले असार १४ मा आफ्नो सरकार हटाउन भारतीय चलखेल भएको भन्ने अभिव्यक्ति दिएपछि नेकपा बैठकमा उनको राजीनामाको माग उठेको थियो । त्यसपछि विवाद उत्कर्षमा पुग्यो । विवाद झन् चर्किने भएपछि गत असार २४ गते बोलाइएको स्थायी कमिटी बैठक सहमतिका लागि एक साता रोकिएको थियो । यो एक सातामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच दुईपटक मात्रै छलफल भयो ।

बिहीबार तीन नेताबीच ३ घण्टा छलफल चलेको थियो । छलफलमा ओलीले आफू स्थायी कमिटी बैठक फेस गर्न तयार रहेको बताएपछि शुक्रबार एक दिनका लागि चाहिँ बैठक बोलाउने मनस्थितिमा नेताहरू पुगेका छन् । ‘अध्यक्षद्वयबीच सहमति भएको छैन तर शुक्रबारको बैठक स्थगित हुँदैन,’ बैठकमा केहीबेर सहभागी भएका महासचिव विष्णु पौडेलले भने, ‘तीनै जना नेताले मनका कुरा खोलेर राख्नुभएको छ, सहमति खोज्नुपर्छ भन्नेतर्फ तीन जना नै हुनुहुन्छ । स्थायी कमिटी बस्नुअघि भोलि (शुक्रबार) बिहान दुई अध्यक्ष बस्नुहुन्छ, उहाँहरूका बीचमा अब कुन मोडालिटीमा कसरी जाने भन्ने छलफल होला ।’

शीर्ष नेताहरूबीच सहमतिका लागि कम्तीमा १५ दिन थप समय लिनुपर्ने सहमति जुटेको बैठक स्रोतको भनाइ छ । ‘शुक्रबार बैठक राख्ने, कोभिड–१९ नियन्त्रण, लकडाउनपछि अस्तव्यस्त जनजीवनलाई सम्बोधन, बाढीपहिरो क्षेत्रमा कार्यकर्ता परिचालनलगायत विषयको एउटा प्रस्ताव पारित गरेर अलि लामो समयका लागि रोकौं भन्नेमा हामी सचिवालय सदस्यभित्र सहमति जुटिसकेको छ,’ बैठकसम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो, ‘शुक्रबारको बैठकमा नेताहरू कसरी प्रस्तुत हुनुहुन्छ हेरौं न ।’

शुक्रबारको बैठक राखेर केही दिन पर सार्ने प्रस्ताव बिहीबार बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा ओली पक्षइतरका सचिवालय सदस्यहरूले तयार पारेका थिए । ‘हामीले पनि कुनै कारबाही गरेको जस्तो नदेखिने गरी समाधान निस्किए हुन्थ्यो भन्ने नै सोचेका छौं । कसैलाई कारबाही गर्ने या कसैलाई जबरजस्ती निकाल्ने भन्ने हाम्रो कुरा होइन,’ दाहाल–नेपाल निकट स्रोतले कान्तिपुरलाई भन्यो, ‘शुक्रबार बैठकमा के गर्दा उपयुक्त हुन्छ भन्ने सल्लाह गरेर सबैलाई सहज हुने गरी निर्णय गर्छौं ।’

ती नेताका अनुसार दुवै पक्ष ‘विन–विन सिच्युएसन’ (जित–जित) मा जाने गरी बैठकलाई केही पर धकेल्ने मनस्थिति बनेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच केही दिनअघि भएको भेटमा पनि बैठक पर धकेलेर सहमति खोज्ने विषयमा छलफल भएको थियो । उक्त भेटपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा त दिनुपर्छ तर उनलाई पार्टीले अपमान गरेर निकाल्यो भन्ने आभास हुनुहुँदैन भन्नेमा नेता नेपालको जोड रहेको छ । स्रोतहरूका अनुसार अध्यक्ष दाहालसँग असार २५ गते भएको भेटमा ओलीपक्षीय नेताहरूले बैठकलाई अलि लामो समय स्थगन गरेर सहमति खोज्न आग्रह गरेका थिए । लगत्तै दाहाल एक साता बैठक रोकेर चितवन गए । फर्किएपछि ओलीसँग भएको पहिलो भेट एजेन्डामै प्रवेश नगरी सकियो भने दोस्रो पटक एक्लाएक्लै भएको भेटमा दुवै अडानमा यथावत् रहे । नेपालसहित भएको बिहीबारको भेट पनि त्यति प्रिय नभएको बैठक सम्बद्ध स्रोतको भनाइ छ ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अडान यथावत् रहेको बताए । ‘प्रचण्डजी र माधव नेपालजीसँग बस्दा पनि प्रधानमन्त्रीजीले आफूले दुवै पदबाट राजीनामा नदिने पुरानो कुरा दोहोर्‍याउनुभएछ,’ उनले कान्तिपुरसँग भने, ‘अहिलेसम्म प्रधानमन्त्रीलाई आग्रह गरिएको हो । मान्नुभएन भने पार्टी उपयुक्त निर्णय गर्न बाध्य हुनेछ । अहिलेसम्म धैर्यतापूर्वक पर्खिएर उहाँलाई बाटो देखाउने काम गरिएको छ । अब पार्टीले नै निकास दिनुपर्ने हो भने पार्टीले सोच्छ ।’ खुमलटार भेलामा पार्टीलाई राम्रो ढंगले रूपान्तरण गर्ने, बैठक अघि बढाउने, संकटबाट पार्टीलाई चाँडै मुक्त गर्नेलगायत विषयमा कुराकानी भएको उनले जानकारी दिए ।

अध्यक्षद्वयसहितको भेटपछि बिहीबार वरिष्ठ नेता नेपाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच पार्टी कार्यालय धुम्बाराहीमा कुराकानी भएको थियो । साँझ भने ओली पक्षधर नेताहरूको बालुवाटारमा र दाहाल–नेपाल पक्षधरको खुमलटार भेला भएको थियो । मुख्य नीतिगत विषयहरू भएकाले अब केन्द्रीय कमिटीले नै निर्णय गर्नुपर्ने कुरा खुमलटार भेलामा भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । ‘झिनामसिना कुरा त स्थायी कमिटीले मात्रै गरेर पनि हुने भयो । मुख्य नीतिगत कुरा स्थायी कमिटीले गरेर हुन्न । केन्द्रीय कमिटीमा जानुपर्ने हुन्छ । केन्द्रीय कमिटी बैठक डाक्न पहिले ओलीजी तयार हुनुहुन्नथ्यो । अहिलेचाहिँ केन्द्रीय कमिटी बैठक डाक्न उहाँ तयार हुनुभएको छ भन्ने ब्रिफिङ प्रचण्डजी र माधवजीले गर्नुभयो,’ गुरुङले भने । केन्द्रीय कमिटी बैठक कहिले बोलाउने भन्ने निर्णय स्थायी कमिटीले शुक्रबार गर्नेछ । ‘सबै विवादलाई अब केन्द्रीय कमिटीमै लगेर हल गर्ने भनेर तीन जनाबीच कुराकानी भएको रहेछ । त्यही कुरा हामीलाई सुनाइयो,’ गुरुङले भने ।

‘भारतले माग्दैमा म किन राजीनामा दिने ?’

अध्यक्षद्वयका बीचमा निरन्तर छलफल भए पनि ओलीसहितको ‘कोर’ बैठकमा नेता नेपाल डेढ महिनापछि बिहीबार सहभागी भएका हुन् । उक्त बैठकमा पनि अघिल्ला बसाइमा जस्तै ओलीले राजीनामा दिनैपर्ने र दिँदै नदिने भन्नेमै छलफल भयो । नेताहरूको भनाइ उद्धृत गर्दै उनीहरू सम्बद्ध स्रोतले बताएअनुसार प्रधानमन्त्री ओलीले भारतले माग्दैमा आफूले राजीनामा नदिने अडान दोहोर्‍याएका थिए । ‘पार्टीको, तपाईंहरूको एजेन्डा भएको भए छुट्टै कुरा, भारतले माग्दैमा मैले किन राजीनामा दिऊँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘दुवै पदबाट कुनै पनि हालतमा राजीनामा दिन्नँ, बरु स्थायी कमिटी सामना गर्छु ।’

ओलीले बरु चाँडै महाधिवेशन गरेर पार्टीको एकल अध्यक्ष बन्न दाहाललाई फेरि आग्रह गरेका थिए । ‘हामीले तपाईंले गर्दा कूटनीतिक र राजनीतिक रूपमा देशले ठूलो क्षति व्यहोर्नु परिरहेको छ, कारबाही गरेजस्तो नहोस् आफैं निकास दिनुस् भन्यौं,’ दाहाल–नेपालको बिफ्रिङ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँमा पटक्कै रियलाइजेसन छैन ।’

बैठकमा प्रधानमन्त्री ओलीले गत मंसिर ४ कै सहमतिको पुनर्व्याख्या गरेर अघि बढ्नुपर्ने बताएका थिए भने दाहालले ०७५ जेठ २ को सहमति कार्यान्वयन गर्नुपर्ने अडान दोहोर्‍याए । नेता नेपालले भने अरू कुनै कोणबाट छलफल गर्न सकिन्छ भने त्यता पनि सोचौं भन्ने प्रस्ताव गरेका थिए । ‘मैले त फेरि दुइटाको मात्रै चोचोमोचो मिलाएर केही हुँदैन, जे–जे गर्ने हो विधिसम्मत तरिकाले कमिटीबाटै गर्नुपर्छ भनेको छु, प्रचण्डजी पनि कमिटीमै निर्णय गरेर अघि बढ्नुपर्छ भन्नेमा हुनुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर केपीजीलाई सकेसम्म कमिटीमा छलफल नै गर्न नपरे हुन्थ्यो भन्ने छ ।’

‘दाहालको विकल्पमा उम्मेदवार खोजौं’

प्रधानमन्त्री ओली निकट नेताहरूले नेता नेपालसमक्ष नयाँ प्रस्ताव गरेका छन् । उच्च स्रोतले कान्तिपुरलाई बताएअनुसार नेपालसँग चरणबद्ध छलफल गरेका ओलीसम्बद्ध नेताहरूले दाहालका विकल्पमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार खोज्ने प्रस्ताव नेपालसँग गरेका हुन् । यो प्रस्तावमा नेपालले जवाफ नदिएको स्रोतको भनाइ छ ।

‘एक व्यक्ति एक पद तपाईंले बारम्बार उठाएको कुरा हो, त्यो लागू हुने गरी दाहालको विकल्पमा प्रधानमन्त्रीको नयाँ उम्मेदवार खोजौं,’ ओलीपक्षीय नेताबाट गएको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो, ‘सकेसम्म प्रधानमन्त्री पद पूर्वएमालेहरूले नै राखौं न ।’ नेता नेपालसहित खनाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्यहरूले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने र त्यसको निर्विकल्प उम्मेदवारका रूपमा दाहाललाई अघि सार्ने सहमति यसअघि नै गरेका छन् ।

प्रकाशित : श्रावण २, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?