'प्रधानमन्त्रीको अभिव्यक्ति सरकार र नेकपाको मत होइन भने उहाँले शासन गर्ने नैतिक र राजनैतिक अधिकार गुमाउनुभयो'
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको विवादित अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको बताएको छ ।
बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरुले केही गम्भीर प्रश्न सिर्जना गरेको बताएका हुन् ।
उनले भनेका छन्, 'प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भएको छ— देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?'
प्रवक्ता शर्माले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ र व्यवहार अर्कोतर्फ हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् ।
प्रवक्ता शर्माले देशमा कोरोना र बाढीपहिरोका कहरका बीच प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको दायित्व र व्यवहारलाई लिएर चार प्रश्न गरेका छन् ।
प्रवक्ता शर्माले प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने पनि बताएका छन् । संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना नगरेको पनि प्रवक्ता शर्माले बताए । प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने कुरा नेकपाकै आन्तरिक विषय भएको पनि प्रवक्ता शर्माले बताएका छन् । 'तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसँग आवश्यक भएको छ,' शर्माले भनेका छन् ।
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक पनि कांग्रेसले माग गरेको छ ।
सम्बन्धित समाचार
