कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कांग्रेसको प्रश्‍न : प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

'प्रधानमन्त्रीको अभिव्यक्ति सरकार र नेकपाको मत होइन भने उहाँले शासन गर्ने नैतिक र राजनैतिक अधिकार गुमाउनुभयो'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको विवादित अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको बताएको छ ।

कांग्रेसको प्रश्‍न : प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

बुधबार कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरुले केही गम्भीर प्रश्न सिर्जना गरेको बताएका हुन् ।

उनले भनेका छन्, 'प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भएको छ— देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?'

प्रवक्ता शर्माले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ र व्यवहार अर्कोतर्फ हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् ।

प्रवक्ता शर्माले देशमा कोरोना र बाढीपहिरोका कहरका बीच प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको दायित्व र व्यवहारलाई लिएर चार प्रश्न गरेका छन् ।

  • बाढी–पहिरोमा कयौंको मृत्यु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? केवल समवेदनाको एक वक्तव्य ?
  • कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ कयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहीखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने ?
  • सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ ? गम्भीर कटूटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको व्यगत हतियारका रूपमा उपयोग गर्ने ?
  • नक्साअनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणी मार्फत उहाँले संवेदनशील विषयमा असंवेदनशील व्यवहार प्रस्तुत गर्नु भएको छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने पनि बताएका छन् । संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना नगरेको पनि प्रवक्ता शर्माले बताए । प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने कुरा नेकपाकै आन्तरिक विषय भएको पनि प्रवक्ता शर्माले बताएका छन् । 'तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसँग आवश्यक भएको छ,' शर्माले भनेका छन् ।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक पनि कांग्रेसले माग गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार ३१, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?